काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक रूपमा आयोजना गरिने बिजनेस एक्सिलेन्स अवार्ड २०२१ शनिबार होटेल याक एन्ड यतीमा सम्पन्न गरेको छ । ‘ह्यान्ड इन ह्याँड फर एन एक्सिलेन्स फ्युचर’ नारासहित सम्पन्न भएको उक्त कार्यक्रममा देशभरि रहेका २४ हजार पाँच सय अभिकर्ताहरूमध्ये कार्यक्रममा गत आर्थिक वर्षमा उत्कृष्ट कार्य सम्पादन गरी आईएमई लाइफ इन्स्योरेन्सको कर्पोरेट क्लबमा पर्न सफल दुई सय जना क्लब दाबेदार, उत्कृष्ट आठ एजेन्सी मेनेजर, ३२ एमडीआरटीमा योग्य अभिकर्ता, अभिकर्ता, विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखाहरू र कर्मचारीहरूलाई सम्मान गरिएको कम्पनीले जानकारी दिएको छ ।
कार्यक्रममा तीन सयभन्दा बढी अभिकर्ताको सक्रिय उपस्थिति रहेको थियो । आईएमई ग्रुपका म्यानेजिङ डाइरेक्टर हेम राज ढकाल, कम्पनीका अध्यक्ष डा. रामहरि अर्याल र अन्य सञ्चालक समितिका सदस्यहरूको समुपस्थितिमा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो । कार्यक्रममा ब्रान्ड एम्बासेडर मनिषा कोइरालाको उपस्थिति थियो । उनीहरूले यस्ता कार्यक्रमले आईएमई लाइफका अभिकर्ताहरूलाई यस क्षेत्रमा क्रियाशील रहन अझ प्रेरित गर्नेछ भन्ने विश्वास व्यक्त गर्दै अझै उत्कृष्ट कार्य सम्पादन गर्न सबै उपस्थित अभिकर्ताहरूलाई प्रेरित गरे ।
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय ट्रेनरद्वारा एमडीआरटीलाई केन्द्रबिन्दु बनाई प्रशिक्षण दिइएको थियो । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले यस पेसालाई सम्मानित बनाउन र उत्कृष्टलाई पुरस्कृत गर्ने कार्यमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी सदैव तयार रहेको बताउँदै यस्ता कार्यक्रमले व्यावसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताए ।
कम्पनीले आफ्नो सेवालाई समयसापेक्ष परिमार्जन गर्दैै थप उत्कृष्ट बनाई व्यावसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताए । उनले आगामी दिनहरूमा बीमामा आबद्ध भई उच्च सम्मान र ऊर्जाका साथ काम गर्नका लागि सबै उपस्थित अभिकर्तालाई प्रेरित गरे । त्यस्तै कम्पनीका अध्यक्ष डा. राम हरि अर्यालले बीमा अभिकर्ता सम्मानजनक पेसा भएको र राष्ट्रको लागि योगदान पु-याएको बताए । समापनको अवसरमा सञ्चालक अश्विनी कुमार ठाकुरले कम्पनीलाई आजको अवस्थामा ल्याई पु-याउन प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पु-याउने सम्बन्धित सबैप्रति कृतज्ञता व्यक्त गरे ।