काठमाडौं । बैंकिङ क्षेत्रको कुल निक्षेप ४८ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत बिहीबारसम्म सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीहरुको कुल निक्षेप उक्त अनुपातमा पुगेको हो ।
सोमध्ये वाणिज्य बैंकहरुमा मात्र रहेको कुल निक्षेप ४२ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरुसँग रहेको कुल निक्षेप पाँच खर्ब ७१ अर्ब रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्मको विवरणअनुसार भने बैंक तथा फाइनान्स कम्पनीहरुमा रहेको कुल निक्षेपमध्ये सबैभन्दा बढी अंश मुद्दती निक्षेपको रहेको छ । जसअनुसार २०७८ कात्तिकमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः सात दशमलव एक प्रतिशत, ३३ दशमलव एक प्रतिशत र ५२ दशमलव तीन प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः सात दशमलव नौ प्रतिशत, ३३ दशमलव चार प्रतिशत र ५० दशमलव एक प्रतिशत रहेको थियो ।
२०७८ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३९ दशमलव ७९ प्रतिशत रहेको छ । २०७७ कात्तिक मसान्तमा यस्तो निक्षेपको अंश ४२ दशमलव ६६ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप एक दशमलव तीन प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप पाँच प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १७ दशमलव दुई प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा आठ दशमलव नौ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा चार दशमलव नौ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३२ दशमलव दुई प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको कात्तिक मसान्तसम्ममा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह आठ दशमलव छ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह ११ दशमलव छ प्रतिशतले र फाइनान्स कम्पनीहरुको कर्जा प्रवाह १३ दशमलव नौ प्रतिशतले बढेको छ । २०७८ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६ दशमलव पाँच प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२ दशमलव तीन प्रतिशत कर्जा चालू सम्पत्ति अर्थात् कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । २०७७ कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६ दशमलव दुई प्रतिशत र १२ दशमलव चार प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०७८/०७९ को चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १० दशमलव दुई प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा आठ दशमलव तीन प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा पाँच दशमलव तीन प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा नौ दशमलव पाँच प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा चार दशमलव सात प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा सात दशमलव आठ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १४ दशमलव पाँच प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा तीन दशमलव आठ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) सात दशमलव एक प्रतिशतले, ट्रष्ट रिसिट अर्थात् आयात कर्जा आठ दशमलव चार प्रतिशतले र हायर पर्चेज कर्जा चार दशमलव दुई प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा सेयर धितो अर्थात मार्जिन प्रकृति कर्जा भने चार दशमलव एक प्रतिशतले घटेको छ ।