काठमाडौं । बेलायत सरकारले दक्षिण एसियाली मुलुकबाट एक लाख जना र नेपालबाट १० हजार जना नर्स लैजाने तयारी गरेको छ । नेपालबाट सो संख्यामा नर्स लैजाने भएसँगै सरकारले यसको प्रक्रिया समेत अघि बढाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।
बेलायतका प्रतिनिधिहरुले बेलायतस्थित नेपाली दूतावासमार्फत परराष्ट्र मन्त्रालयलाई औपचारिक पत्र लेख्दै नर्सको संख्याबारे जानकारी गराएको थियो । सोहीअनुरुप नेपाली पक्षले तयारी अगाडि बढाएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरले आर्थिक दैनिकलाई बताए ।
बेलायती पक्षले नै नर्स लैजाने प्रस्ताव गरेको हुँदा प्रक्रिया अघि बढ्न समय नलाग्ने विषयमा नेपाली पक्ष विश्वस्त छ । हाल नेपाली पक्षले बेलायत नर्स लैजाने मोडालिटी निर्माणको काम अघि बढाएको उनको भनाइ छ । नर्स लैजाने विषयमा मन्त्रिपरिषद् समेत जानकार भइसकेको हुँदा हाल भने यसको जिम्मेवारी श्रम मन्त्रालयअन्तर्गत रोजगार व्यवस्थापन महाशाखाका सहसचिव विनु बज्राचार्य कुँवरको नेतृत्वले गरेको छ । सहसचिव कुँवरको नेतृत्वमा गठित समितिमा पराराष्ट्र, अर्थ, मन्त्रिपरिषद्लगायतका अधिकारीहरु सहभागिता छ । समितिले नर्स लैजाने मोडालिटी तयार गर्नेछ ।
‘बेलायतमा नर्स लैजाने विषयमा अबको केही समयभित्र दुईपक्षीय छलफल हुनेछ । सो छलफलको प्रमुख एजेन्डा मोडालिटी तय गर्ने रहेको छ’, उनले आर्थिक दैनिकसँग भने, ‘अबको दुई महिनाको अवधिभित्र मोडालिटी टुंगो लाग्ने गरी प्रक्रिया अघि बढेको छ ।’
बेलायत सरकारले नर्स लैजाने विषयमा औपचारिक पत्र पठाइ परराष्ट्रलाई जानकारी गराइसकेको हुँदा सोहीअनुरुप नेपाली पक्षले तयारी थालेको हो । नर्स लैजाँदै लाग्ने सम्पूर्ण खर्च बेलायत सरकारले व्यहोर्न जानकारी समेत नेपाली पक्षलाई गराइएको छ । योसँगै नेपालबाट नर्स बेलायत लैजाँदै गर्नुपर्ने सम्पूर्ण प्रक्रियाहरुको खर्च बेलायतका प्रतिनिधि अर्थात् बेलायतका रोजगारदाताले व्यहोर्नेछन् । यसका लागि बेलायतका प्रतिनिधिहरुले समेत निकै चासो व्यक्त गरेका छन् । मोडालिटी भने टुंगो नलागिसकेको अवस्थामा पनि छनौट गर्ने, परीक्षा लिनुपर्नेलगायतका नेपालमा हुने सम्पूर्ण प्रक्रियाको खर्च व्यहोर्न बेलायती पक्ष तयार भएको उनले बताए । सामान्यतया विदेश काम गर्न जाँदा परीक्षा दिने, स्वास्थ्य चेकजाँच, बीमा, श्रम स्वीकृति, हवाइ टिकटलगायतका प्रक्रियाहरु अपनाउँदा शुल्क लाग्ने गर्छ ।
बेलायतका राष्ट्रिय स्वास्थ्य सेवा क्षेत्रमा रोजगार दिनको लागि उनीहरुलाई बेलायत लैजान लागिएको हो । नेपाल नर्सिङ एसोसिएसनका अनुसार मुलुकमा हालसम्म ६६ हजार जना नर्स छन् । यसमध्ये २५ हजार जना विदेशमा र नौ हजार जना सरकारी क्षेत्रमा कार्यरत छन् । बाँकी निजी अस्पतालमा कार्यरत रहेको आकलन गरिएको छ । सम्पन्न मुलुक बेलायतले नेपालबाट नर्स लैजाँदै लाग्ने सम्पूर्ण खर्च व्यहोर्नेमा नेपाली पक्ष विश्वस्त छ । वैदेशिक रोजगारीका लागि नेपाली युवाहरु मलेसिया, खाडी लगायतका विभिन्न मुलुक जाँदा लाग्ने खर्च रोजगारदाताले व्यहोर्ने भने पनि त्यो हुनसकेको छैन ।