काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतहरू नियुक्त गरेको छ । आगामी माघ १२ गते हुनेलागेको राष्ट्रियसभाको निर्वाचनको लागि आयोगले सम्बन्धित जिल्लाका जिल्ला न्यायाधीशहरूलाई पुस १२ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृतमा नियुक्ति गरेको हो ।
निर्वाचन अधिकृतको पदमा नियुक्त भएका निर्वाचन अधिकृतहरूमा प्रदेश नं. १ को लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्साल, प्रदेश नं. २ को लागि धनुषा जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेल, बागमती प्रदेशको लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ रहेका छन् । यसैगरी गण्डकी प्रदेशको लागि कास्की जिल्ला अदालतका न्यायाधीश कृष्ण भट्टराई, लुम्बिनी प्रदेशको लागि दाङ जिल्ला अदालतका न्यायाधीश रीतेन्द्र थापा, कर्णाली प्रदेशको लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्य र सुदूरपश्चिम प्रदेशको लागि कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरु रहेका छन् ।
यस्तै आयोगले २०७३ माघ २० गतेभन्दा अघि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता भई नागरिकतामा उल्लिखित ठेगानाभन्दा फरक ठेगानामा मतदाता नामावली रहेमा नामसारी गरिदिने निर्णय गरेको छ । मतदाता नामावली फरक ठाउँमा रहेका व्यक्तिहरूले नागरिकतामा उल्लिखित ठेगानामा नै मतदाता नामावली सारी पाउन उनीहरूले मतदाता नामावली रहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिनुपर्नेछ । यदि उनीहरूले निवेदन दिएमा नाम सो जिल्लाको मतदाता नामावलीबाट नागरिकतामा उल्लिखित ठेगानामा भएको स्थानीय तहको वडामा सार्ने सकिनेगरी निर्णय भएको आयोगले जनाएको छ ।