काठमाडौं । वरिष्ठ प्रसूति तथा स्त्रीरोग एवम् टेष्ट्युब बेबी विशेषज्ञ डा. नुतन शर्माले नर्भिक इन्टरनेशनल हस्पिटलमा पूर्णकालीन सेवा सुरु गरेकी छिन् । करिब १५ वर्षदेखि काम गर्दै आएको ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालसँगको सहकार्य अन्त्यसँगै डा. शर्माले नर्भिकमा पूर्णकालीन सेवा सुरु
गरेकी हुन् ।
अल्का अस्पतालमा आफ्नै फर्टिलिटी सेन्टर समेत सञ्चालन गर्दै आएकी उनले गत मंसिर १ गतेदेखि नै अल्का छाडेकी हुन् । काठमाडौैँको थापाथलीस्थित नर्भिक अस्पतालमा सञ्चालनमा आएको नर्भिक आईभीएफ सेन्टरमार्फत डा. शर्माले स्त्री रोग तथा बाँझोपनसम्बन्धी समस्या भएका बिरामीको उपचार सेवा सुरु गरेको जानकारी दिइन् । अल्काको आईभीएफ सेन्टर समेत डा. शर्माले नै सुरु गरेकी थिइन् । स्त्री रोग तथा बाँझोपनसम्बन्धी समस्या भएका बिरामीलाई आधुनिक सुविधासहित थप उच्चस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा आबद्ध भएको डा. शर्माले बताइन् । उनले अल्कामा करिब १५ वर्षभन्दा बढी समय बिरामीको सेवा गरेकी छिन् ।
शर्माले प्रसूति तथा स्त्री रोगका साथै बाँझोपनसम्बन्धी समस्या भएका बिरामीलाई नर्भिक हस्पिटलबाट अझै परिस्कृत एवं उच्चस्तरीय सेवा दिने जानकारी दिइन् । नर्भिक आईभीएफ सेन्टरमा नेपालमै पहिलोपटक अन्तर्राष्ट्रियस्तरको मोडुलर ओटी र जेनेटिक ल्याबसहितको टेष्ट्युब बेबी सेवा सञ्चालन भएकाले बिरामीले तुलनात्मक रुपमा थप उच्चस्तरीय सेवा पाउने डा. शर्माको भनाइ छ ।