कोलम्बो । श्रीलंकाले इरानलाई चिया पठाएर विगतमा आयात गरिएको कच्चा तेलको ऋण तिर्ने भएको छ । बीबीसीका अनुसार श्रीलंका सरकारका मन्त्री रमेश पथिरानाले ५० लाख अमेरिकी डलर मूल्यबराबरको चिया हरेक महिना इरान पठाएर २५ करोड १० लाख अमेरिकी डलर तिर्ने आशा गरेको बताए ।
अहिले श्रीलंका ठूलो ऋणमा डुब्दै गएको छ भने विदेशी मुद्रा सञ्चितिमा संकटको सामना गरिरहेको छ । त्यसमाथि कोरोना महामारीका कारण देश घुम्न आउने विदेशी पर्यटक आगमन समेत घट्दा पर्यटनतर्फको आय आम्दानी पनि छैन ।
श्रीलंकाको चिया बोर्डका एक सदस्यले विदेशी ऋण तिर्न चिया पठाउनलागेको पहिलोपटक भएको बताए । पथिरानाले पनि यसरी ऋणको भुक्तानी गर्दा संयुक्त राष्ट्रसंघीय नियम तथा अमेरिकी आर्थिक प्रतिबन्धको उल्लंघन नहुने दाबी गरे । किनभने चियालाई खाद्यवस्तु मानिने र यो मानवीय पक्षसँग जोडिने उनको भनाइ छ । यसमा कुनै पनि कालोसूचीमा परेका इरानी बैंकहरु संलग्न नहुने पनि उनले बताएका छन् ।
‘हामी ५० लाख डलर मूल्यबराबरको चिया हरेक महिना पठाउनेछौँ, जुन किनेको तेलको ऋण तिर्न प्रयोग हुनेछ’, उनले भने । चार वर्षयता श्रीलंकाले इरानलाई ऋण तिर्न बाँकी छ ।
श्रीलंकाको वन मन्त्रालयले यो प्रस्तावित स्किमले देशलाई अत्यावश्यक विदेशी मुद्रा बचाउन सहयोग गर्ने बताएको छ । श्रीलंकाले सिलोन चिया बिक्री गर्न चाहेको छ । तर यसले चिया निर्यातकर्तालाई फाइदा नहुने चिया उत्पादकहरुले बताएका छन् । आफूहरुले स्वदेशी मुद्रा नै पाउने भएकाले फाइदा नहुने उनीहरुको भनाइ छ ।
श्रीलंकाले अर्को वर्षसम्म साढे चार अर्ब अमेरिकी डलर तिरिसक्नुपर्नेछ । जनवरीमा श्रीलंकाले ५० करोड डलरको अन्तर्राष्ट्रिय सार्वभौम ऋणपत्रको भुक्तानी गर्नुपर्नेछ । नोभेम्बरको अन्त्यसम्म विदेशी मुद्रा सञ्चिति १.६ अर्ब डलरले घटेको पछिल्लो तथ्यांकले देखाएको छ ।
श्रीलंकाको केन्द्रीय बैंकले सन् २०२२ मा सबै बाह्य ऋण तिरिसक्ने बताएको छ । श्रीलंकाले वार्षिक ३४ करोड किलोग्राम चिया उत्पादन गर्छ । गत वर्ष उसले २६ करोड ५५ लाख किलो चिया निर्यात गरेको थियो । यसबाट कोलम्बोलाई एक अर्ब २४ करोड डलर कमाएको थियो । श्रीलंकाको पाँच प्रतिशत जनसंख्या अर्बौँका उद्योगमा काम गर्छन् ।