काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले १४औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा मंगलबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले सञ्चालक समितिले सिफारिस गरेबमोजिम गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई १६ प्रतिशतका दरले हुने दुई अर्ब ५७ करोड ३२ लाख रुपैयाँबराबरको बोनस सेयर तथा चुक्ता पुँजीको शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश (कर समायोजनार्थ समेत) दिने निर्णय गरेको छ ।
सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण समूहमा सञ्चालक पद –१ मा गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । विष्ट यसअघि पनि बैंकको सञ्चालक रहेका थिए । साधारणसभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सेयरधनीहरूलगायत सम्बन्धित सबैमा कृतज्ञता व्यक्त गर्दै साधारणसभामा अध्यक्ष श्रेष्ठले बैंकले विगतमाझैँ आगामी दिनहरूमा पनि बैंकको सेवा र शाखाहरूको सञ्जाल विस्तार गर्दै लगेर आफ्ना सेयरधनीहरूलाई यथोचित र समय सापेक्ष प्रतिफलको निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।