काठमाडौं । सनराइज बैंकले सहकारी संस्थाका ग्राहकका लागि पनि डेबिट कार्ड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले भिसा ब्रान्डअन्तर्गत सहकारी संस्थाका ग्राहकका लागि ‘को–ब्रान्ड’ जारी गरेको कार्डको औपचारिक शुभारम्भ बुधबार गरेको हो ।
बैंकका अनुसार यो सेवाका लागि कोसिस सफ्टवेयर, आईमार्क प्रालि र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)सँग सम्झौता गरिएको छ । बैंकले को–ब्रान्ड कार्ड जारी गर्न भिसा इन्टरनेसनलबाट सहमति लिइसकेको जानकारी दिएको छ । बैंकका अनुसार यो कार्ड जारी गर्नको लागि पहिलो चरणमा विभिन्न चार सहरकारी संस्थासँग सम्झौता गरिएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको सोही कार्यक्रमानुसार नै बैंकले सहकारीका लागि भिसा को–ब्रान्ड डेबिट कार्ड जारी गरेको बैंकले जनाएको छ । बैंकका अनुसार यो कार्ड नेपालका साथै भारत र भुटानमा पनि प्रयोग गर्न सकिनेछ ।
यो कार्डमार्फत हुने कारोबारका लागि बैंकले मुख्यतः सेटलमेन्ट बैंकको भूमिका निर्वाह गर्ने जानकारी दिएको छ । साथै, कार्ड जारी गर्नका लागि सम्बन्धित कार्ड स्किम (भिसा इन्टरनेसनल)सँग आवश्यक पहल गरी आइडेन्टिफिकेसन नम्बर उपलब्ध गराउने तथा कार्ड पर्सनलाइजेसन गर्ने काम पनि बैंकले गर्नेछ । यसरी जारी हुने कार्डका लागि स्विचिङ सेवा प्रदान गर्ने कार्य नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमले गर्नेछ भने आईमार्क प्रालि तथा पायोनियर एसोसिएट्स प्रालि र कोसिस सहकारी सफ्टवेयरले सम्बद्ध सहकारी संस्थाको कोर बैंकिङ सिस्टम, बैंकको कोर बैंकिङ सिस्टम र स्विचिङ सिस्टमबीच आवश्यक सञ्चार समन्वय गर्ने संरचना तयार गर्ने तथा कारोबार रोटिङ, कार्ड जारी गर्नुपूर्व गरिने ग्राहक पहिचानका गतिविधिका लागि आवश्यक प्राविधिक सेवा प्रदान गर्ने जानकारी बैंकले दिएको छ ।
बैंकका अनुसार यसरी जारी हुुने कार्डहरू सनराइज बैंकको स्वामित्वमा रहेको बैंक आइडेन्टिफिकेसन नम्बरअन्तर्गत जारी हुनेछ । ती कार्डहरू सम्बन्धित सहकारी संस्थामा रहेको कार्डवाहकको खातामा सोझै लिंक हुनेछन् ।