बेइजिङ । अमेरिकी माइक्रोचिप उत्पादक इन्टेल कम्पनीले आपूर्तिकर्तालाई चीनको सिन्जियाङ क्षेत्रबाट श्रमिक वा उत्पादन प्रयोग नगर्न पठाएको पत्रलाई लिएर माफी मागेको छ । बीबीसीका अनुसार उक्त पत्रपछि कम्पनीको चर्को आलोचना भएको थियो । त्योसँगै इन्टेललाई ‘बाइकट’ गर्नेसम्मका प्रतिक्रिया देखिएका थिए । पत्रमा आफ्नो आपूर्ति शृंखलाले त्यहाँको श्रम र उत्पादन प्रयोग नगरेको हुनुपर्ने उल्लेख थियो । धेरै देशका सरकारले कडाइ गरेपछि कम्पनीले पनि यस्तो पत्र लेखेको थियो । सिन्जियाङमा चीनले मानवअधिकार उल्लंघन गरेको आरोप लाग्दै आएको छ । उक्त क्षेत्रमा उइगुर मुस्लिम अल्पसंख्यकको जनसंख्या छ । त्यहाँ यस समुदायका मानिसलाई जबर्जस्ती काममा लादिएको बताइन्छ । गत वर्ष डिसेम्बरमा बीबीसीले एउटा अनुसन्धानात्मक रिपोर्ट सार्वजनिक गर्दै सयौँ हजार उइगुरलगायतका अल्पपसंख्यकलाई चीनले श्रममा लादेको खुलासा गरेको थियो । बेइजिङले भने यसको खण्डन गर्दै आएको छ । चिनियाँ सामाजिक सञ्जाल विच्याट र वेईबोको आफ्नो एकाउन्टमा इन्टेलले पत्रको बचाउ गर्दै अमेरिकी कानुन पालना गरेको दाबी गरेको छ । उसले उक्त मुद्दामा भने केही पनि भनेको छैन ।