काठमाडौँ ।लक्ष्मी बैंक लिमिटेडको २१औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकको बिहीबार सम्पन्न सभाले चुक्ता पुँजीको आठ प्रतिशत बोनस सेयर र तीन दशमलव पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस सेयरसँगै बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड पुगेको छ । सभाले आर्थिक वर्ष २०७७–०७८ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरणउपर छलफल गरी स्वीकृत गरेको छ । बैंकले आव २०७७–०७८ मा एक खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संंकलन गरी एक खर्ब आठ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकको वासलातको आका एक खर्ब ५२ अर्ब रहेको छ । सो आवमा बैंकले एक अर्ब ५७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिएको छ । पछिल्लो अवधि अर्थात् चालू आर्थिक वर्षको पुसको पहिलो सातासम्ममा भने बैंकको कुल निक्षेप एक खर्ब २८ अर्ब ३६ करोड ४० लाख रुपैयाँ पुुगेको छ । यस अवधिमा कुल कर्जा रकम एक खर्ब २६ अर्ब छ करोड ३० लाख रुपैयाँको हाराहारीमा रहेको बैंकमा शून्य दशमलव ४९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । बैंकले हाल सबै क्षेत्रमा गरी एक सय ४० वटा शाखा, एक सय ७० वटा एटीएम काउन्टर, पाँचवटा हस्पिटल सेवा केन्द्र र नौवटा एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।