काठमाडौँ । सरकारले द्वन्द्वपीडित एकल महिलाहरूलाई पनि भत्ता उपलब्ध गराउने तयारी गरिरहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बताएकी छिन् । मानवअधिकारको लागि महिला, एकल महिला समूहको शुक्रबार पाँचौँ अधिवेशन उद्घाटन गर्दै उनले द्वन्द्वपीडित एकल महिलालाई भत्ता उपलब्ध गराउन आवश्यक पहलकदमी र प्रक्रियामा लागेको बताएकी हुन् ।
उनका अनुसार द्वन्द्वपीडित एकल महिलालाई भत्ता उपलब्ध गराउँदा पीडित महिलाहरूको पीडामा मलम लगाउने राम्रो प्रयास हुनेछ । एकल महिलाहरूलाई वर्गीकरण गरिनु हुन्न भन्दै मन्त्री रेग्मीले सबै एकल महिलाको हकहितको लागि आफू सधैँ अग्रपङ्तिमा रहेर काम गर्न तयार रहेको बताइन् । राज्यको हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व बढेको बताउँदै उनले अधिकार प्राप्तिको लागि सबैले संघर्ष गर्नुपर्ने पनि बताइन् । मन्त्री रेग्मीले नियमावली र कार्यविधि बनाएर एकल महिला कोषलाई कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् । कार्यक्रममा एकल महिला सामूहिक संस्थापक अध्यक्ष लिली थापा, वर्तमान अध्यक्ष कुन्दा शर्मालगायतले पनि आफ्नो धारणा व्यक्त गरेका थिए ।