काठमाडौँ । हजारौँ विद्यार्थीको भविष्यमाथि खेलबाड गर्दै सीटीईभीटीका सदस्यसचिव जीवनारायण काफ्ले नर्सिङ पढाउने कलेजहरुको अपग्रेडिङमा चलखेल गर्न लागिपरेका छन् । सदस्यसचिव काफ्लेले बार्गेनिङ गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग अनुमति लिएर र मन्त्रीसँग नमिलेका कुराहरुमा मन्त्रीलाई नै दबाब दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लसँग मिलेमतो गरी अपग्रेडिङमा पैसाको बार्गेनिङ गरेको यसअघि पनि विभिन्न मिडियाहरुमा समाचारहरु आएपछि सदस्यसचिव काफ्ले मिडियालाई मिलाउने भन्दै आफ्ना मान्छेहरुलाई सुराकी बनाउँदै पठाएर समाचार रोक्न दबाब दिनथालेका छन् । स्रोतका अनुसार अपग्रेडिङमा कलेजका सञ्चालकहरुसँगको छलफलमा आफ्नो बार्गेनिङअनुसारकै हुने भएपछि मन्त्री पौडेल नै अपग्रेडिङ चाँडोभन्दा चाँडो गर्न लागिपरेका छन् । मन्त्रीलाई मनाउन कहिले दुबई त कहिले कुन देश पुगेका काफ्ले मन्त्री आफ्नो जालमा फसेको भन्दै आफू निकटकाहरुसँग खुसी मनाउनथालेका छन् । माओवादीमा स्वच्छ छवि बनाउन सफल मन्त्री पौडेल एमालेले नियुक्त गरेका सदस्यसचिव काफ्लेसँग विद्यार्थीहरुको पढ्न पाउने नैसर्गिक अधिकारमा समेत बार्गेनिङ गर्न कसरी तयार भए भन्ने विषय आफैँमा रोचक रहेको स्रोतको भनाइ छ । सीटीईभीटी उच्च स्रोतका अनुसार सदस्यसचिव काफ्ले आफूले बार्गेनिङ गरेको विषयमा समाचारहरु आउनथालेपछि अहिले हरेक समाचारको बारेमा छलफल गर्न मन्त्रीका साथै प्रचण्डमा निजी सचिव रमेश मल्लकहाँ जाने गरेका छन् । नर्सिङको विषयमा चासो कम हुँदै जाँदा सदस्यसचिव काफ्ले आम्दानी नहुने डरले अपगे्रडिङको विषय उठाएर कम्तीमा प्रत्येक कलेजहरुसँग पाँच लाख उठाउने उद्देश्यसहित कलेज सञ्चालकहरुसँग ‘डिल’ गर्न थालेका हुन् । कलेज सञ्चालकहरु समेत आफ्नो कलेज अपग्रेडिङ नहुने डरले सदस्यसचिव काफ्लेको डिजाइनमा लगभग कन्भिन्स भएका छन् । सीटीईभीटीमा काफ्लेलाई नजिकबाट सहयोग त्यहाँका कर्मचारी खेम पोखरेलले गर्ने गरेका छन् ।सेटिङका कामहरुमा सदस्यसचिव काफ्लेले पोखरेललाई नै प्रयोग गर्ने गरेका छन् । सेटिङ मिलाउन खप्पिस भएका काफ्ले आफूलाई फाइदा हेर्दै तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नियुक्ति गरे पनि पछिल्लो समय पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लसँग नजिक भएका हुन् । सीटीईभीटी स्रोतका अनुसार सदस्यसचिव काफ्लेको गतिविधिका कारणले कर्मचारीहरु समेत दिक्क भएका छन् । यतिसम्म कि सदस्यसचिव काफ्लेको चक्रव्यूहमा मन्त्री पौडेलसम्म फसेपछि संस्थाको बदनाम हुन नदिन आन्दोलन गर्नेसम्मको चेतावनी कर्मचारीहरुले दिन थालेका छन् । त्यसअघि आफूअनुकूलको सेटिङ मिलाउन र कानुनी रुपमा समेत बाधा फुकाउन सदस्यसचिव काफ्लेले कानुनी सल्लाहकार रुद्रप्रसाद पोखरेललाई पदबाट हटाएर प्रचण्ड प्रधानमन्त्री हुँदाका महान्यायाधिवक्ता मुक्ति प्रधानलाई नियुक्त गरेका थिए । पैसाविना सम्बन्धन नदिने भएपछि केही कलेजका सञ्चालकहरु भने सदस्यसचिव र मन्त्रीसँग आक्रोशित भएका छन् । र यसको पुष्टि पनि वर्तमान शिक्षामन्त्री पौडेलको मौनताले पुष्टि गरेको छ । सदस्यसचिवको पदबहाली भएलगत्तै विवादित बनेका काफ्लेले करोडौँ रुपैयाँ आर्थिक चलखेल गर्न भर्ना खोलेको स्रोतको भनाइ छ । चिकित्सा शिक्षा ऐनविपरीत पीसीएल नर्सिङको भर्ना खुलाउन तत्कालीन शिक्षासचिव रामप्रसाद थपलियाले पनि साथ दिएका थिए । सचिव थपलियाको अहिले सरुवा भइसकेको छ । यता सदस्यसचिव भने कमाउ धन्दाकै लागि सीटीईभीटी ऐनअनुसार नै भर्ना खुला गरेको दाबी गरिरहेका छन् ।