लण्डन । साना भिडिओ पोस्टका लागि चर्चित सामाजिक सञ्जाल टिकटकले अनलाइन खोजीसम्बन्धी कम्पनी गुगललाई पनि रोजाइमा पछि पारिदिएको छ । गुगललाई उछिन्दै टिकटक विश्वकै नयाँ धेरै प्रसिद्ध अनलाइन गन्तव्य बनेको हो । आईटी सुरक्षा कम्पनी क्लाउडफ्लेयरका अनुसार टिकटक दर्शकहरुको पहिलो रोजाइमा पर्ने अनलाइन प्लेटफर्म बनेको हो । गत फेब्रुअरी, मार्च र जुनमा गुगलभन्दा पछि अर्थात् सर्वाधिक रोजाइमा पर्नेमध्ये दोस्रो स्थानमा रहेको टिकटक गत अगस्टयता पहिलो नम्बरमा चढेको हो । गत वर्ष गुगल नै पहिलो नम्बरमा पर्न सफल थियो । त्यसमा टिकटक, अमेजन, एप्पल, फेसबुक, माइक्रोसफ्ट र नेटफ्लिक्स सबै टप १० मा परेका थिए । क्लाउडफ्लेयरले आफ्नो क्लाउडफ्लेयर राडारमार्फत यी कम्पनीहरुको वेब ट्राफिक अनुगमन गर्ने गरेको जनाएको छ । टिकटकलाई चाँडै लोकप्रियताको शिखर चढ्नसक्नुलाई कोरोना महामारीलाई मुख्य कारण मानिएको छ । लकडाउन भएसँगै मानिसहरु घरमै रहँदा मनोरञ्जनका क्षेत्रमा टिकटकले पकड बनाउन सकेको विश्वास गरिन्छ । यो वर्षको जुलाईसम्म टिकटक तीन अर्बभन्दा धेरै पटक डाउनलोड भइसकेको डेटासम्बन्धी कम्पनी सेन्सर टावरले जनाएको छ । टिकटक चिनियाँ कम्पनी बाइटीडान्सको स्वामित्वमा रहेको छ । संसारभर यसका एक अर्बभन्दा धेरै सक्रिय प्रयोगकर्ता रहेका छन् । अहिले पनि यसका प्रयोगकर्ता निरन्तर बढिरहेका छन् । चीनमा देशको नियन्त्रणसम्बन्धी नियमका कारण यो एपलाई डाउयिन भनिन्छ र फरक नेटवर्कमा सञ्चालन हुन्छ । डाउयिन सन् २०१६ सेप्टेम्बरमा सार्वजनिक गरिएको थियो । चीनले यसका प्रयोगकर्ता १४ वर्षमुनिका व्यक्तिले ४० मिनेट प्रतिदिन मात्रै चलाउन पाउने नियम लागू गरेको छ । अन्तर्राष्ट्रिय रुपमा टिकटक सन् २०१८ मा सार्वजनिक गरिएको थियो । अर्को म्युजिकली एपसँग मर्ज गरेर यसमा छोटाखाले भिडिओ हाल्ने र सेयर गर्न मिल्ने गरी टिकटक ल्याइएको थियो । पछि यो एप विवादमा समेत परेको थियो । भारतमा सन् २०१९ मा यसलाई प्रतिबन्धित नै गरिएको थियो भने अमेरिकाले अनुसन्धान नै गरी ४३ लाख पाउन्ड जरिवाना पनि गराइएको थियो । चीनबाहिरका नेता तथा राजनीतिज्ञले यसप्रति सुरक्षा र गोपनीयतालाई लिएर ध्यानाकर्षण गरेका थिए ।