काठमाडौं । सिद्धार्थ बैंकले देशका विभिन्न स्थानहरूमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले आफ्नो १९औँ वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वातावरणलाई सफा राख्न सातै प्रदेशका विभिन्न स्थानहरूमा सरसफाइ कार्यक्रम आयोजना गरेको जानकारी दिएको छ । सरसफाइ कार्यक्रममा बैंकका कर्मचारीहरूका साथसाथै स्थानीयवासीहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो ।
वातावरणलाई सफा राखी सुन्दरता कायम गर्ने उद्देश्यका साथ देशका सातै प्रदेशका २३ स्थानहरूमा सरसफाइ कार्यक्रम आयोजना गरिएको बैंकले जानकारी दिएको छ । यसअन्तर्गत प्रदेश नं १ को बनसखन्डी मन्दिर विराटनगर, श्री कृष्ण प्रणामी मन्दिर इटहरी, नमूना मार्ग दमक, मेन चोक, इलाम बजार, सुपारी लाइनदेखि हनुमान मन्दिर काँकडभिट्टामा सरसफाइ कार्यक्रम गरिएको हो । यसैगरी प्रदेश नं २ शिव मन्दिर वीरगञ्ज चिनीमिल क्षेत्र र राम मन्दिर जनकपुर क्षेत्रमा सरसफाइ कार्यक्रम गरिएको हो ।
यसैगरी बागमती प्रदेशअन्तर्गत भने काठमाडौँको स्वयम्भूनाथ, बूढानीलकण्ठ मन्दिर, चावहिल गणेश मन्दिर र कमलपोखरी क्षेत्रमा सरसफाइ कार्यक्रम गरिएको हो । यसैगरी ललितपुरको बंगलामुखी मन्दिर र भक्तपुरको सूर्यविनायक गणेश मन्दिरमा पनि सरसफाइ कार्यक्रम गरिएको बैैकले जानकारी दिएको छ ।
यसैगरी गण्डकी प्रदेशअन्तर्गत मनकामना मन्दिर र लुम्बिनी प्रदेशअन्तर्गत सोमाई माई मन्दिर भैरहवा, कालिका मन्दिर परिसर तुल्सीपुर र बागेश्वरी मन्दिर र हडिँया बाबा आश्रम परिसर नेपालगञ्जमा पनि सरसफाइ कार्यक्रम गरिएको बैंकले जनाएको छ । कर्णाली प्रदेशअन्तर्गत भने बिलासपुर मन्दिर परिसर दैलेख, कृष्ण मन्दिर र चन्दननाथ मन्दिर परिसर जुम्ला र कालिका मन्दिर परिसर मुसिकोटमा सरसफाइ गरिएको छ । सुदूरपश्चिम प्रदेशअन्तर्गत पनि शिवपुरीधाम धनगढी, टिकापुर चोक, उग्रतारा मन्दिर र डढेलधुरामा सरसफाइ कार्यक्रम गरिएको बैंकले जानकारी दिएको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले वातावरण, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रहरूमा सहभागिता जनाउँदै सकारात्मक परिवर्तनका लागि योगदान पु-याउँदै आएको छ । आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै जाने उद्देश्य लिएको जानकारी पनि बैंकले दिएको छ ।