काठमाडौँ । नेपाल राष्ट्र बैंकले पुस १२ गते अर्थात् आज सोमबार पुनः २१ अर्ब १० करोड रुपैयाँ ट्रेजरी बिक्री गर्नेभएको छ ।
राष्ट्र बैंकका अनुसार आज अपराह्न दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही पुस पाँच गते पनि राष्ट्र बैंकले १७ अर्ब ५३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । राष्ट्र बैंकका अनुसार जारी मिति पुस १३ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन सक्नेछन् ।
बिक्री गरिने कुुल ट्रेजरीमध्ये ९१ दिने अवधिको नौ अर्ब १० करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँको रहेको छ । यी ट्रेजरीहरूको परिपक्व हुुने अवधि भने क्रमशः २०७८ चैत्र १५, २०७९ असार १४ गते र २०७९ पुस १२ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार आज बिक्री हुुने यी ट्रेजरीहरू पुरानो नवीकरणअन्तर्गतका रहेका छन् ।
यसअघि गत साता पनि राष्ट्र बैंकले ९१ दिने अवधिको पाँच अर्ब ५३ करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो ।