ललितपुर । पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका हर्ताकर्ता सञ्चालकहरुले सहकारीको विधि, विधान, मूल्य, मान्यता र परम्पराविपरीत सबै सदस्यलाई सहभागी नै नगराई २२औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
यसअघि विभिन्न उच्च ओहोदाका व्यक्तिलाई ल्याएर ठूला सभाहलहरुमा सम्पन्न हुने साधारणसभा यस वर्ष भने संस्थाकै कार्यालय पुल्चोकमा गरेको हो । पुल्चोकस्थित ऐतिहासिक समय् फल्चा हडपेर सहकारी भवन बनेको खुलेपछि स्थानीयबासी र सेयर सदस्यहरुको समेत विरोधको स्वर आउनसक्ने भएकाले सहकारीले सुटुक्क साधारणसभा गरेको हो ।
उक्त साधारणसभामा बोल्ने सेयर सदस्यहरुले आफूले के बोल्नुपर्ने हो उक्त विषय संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीलाई दुई दिनअघि नै स्वीकृति लिएर मात्रै बोल्न पाउने व्यवस्था गरेको सहकारीका एक सदस्यले बताए ।
‘यहाँ त उत्तर कोरियाको जस्तो शासन भयो । हामीले सहकारीभित्र भएको बेथितिको विषयमा बोल्न समेत पाएनौँ’, ती सेयर सदस्यले भने, ‘सरकारी निकायलाई देखाउनका लागि मात्रै साधारणसभा आयोजना गरिएजस्तो देखिन्थ्यो । यसअघिको साधारणसभामा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आएका थिए । अहिले त कोही नेता समेत आउन मानेनन् ।’
ती सदस्यका अनुसार सहकारी पछिल्लो समय निकै समस्याग्रस्त भएको र बचतकर्ताको रकम फिर्ता गर्नै नसक्ने अवस्थामा पुगेका कारण लुकेर साधारण सभा गरिएको हो ।
संस्थाका अध्यक्ष अमरदास श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा उनले संस्थाको आर्थिक वर्ष ०७७/०७८ मा सहकारीले गरेको उपलब्धि, भावी योजना, सम्भावना र भविष्यमा आउनसक्ने चुनौतीबारे प्रतिवेदन पेश गरेका थिए । सहकारीका सचिव तथा प्रमुख कार्यकारी अधिकृत भण्डारीले सेयर सदस्यलाई बोल्न प्रतिबन्ध लगाए पनि आफूले भने सहकारीले खेप्नुपरेको समस्याबारे बताएका थिए ।
सहकारीले यसअघि वार्षिक प्रतिवेदन वेबसाइटमै राख्ने गरे पनि यस वर्षको प्रतिवेदन भने लुकाएको छ । ‘प्रतिवेदन नै सार्वजनिक भए पनि त्यो फर्जी विवरणमा आउनेवाला छ । वित्तीय अवस्था खराब भए पनि राम्रो छ भनेर साधारणसभामा भनिएको छ । तर, वास्तवमा त्यस्तो अवस्था छैन । यही खराब वित्तीय अवस्थाको बारेमा कुरा उठाउँछ भनेरै सहकारीको साधारणसभामा सेयर सदस्यलाई बोल्न प्रतिबन्ध लगाइएको हो’, ती सदस्यले भने ।
भण्डारीले देशभर सञ्चालित करिब ३४ हजार सहकारीमध्ये श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि. उत्कृष्ट संस्थाको रुपमा पहिचान बनाउन सफल दाबी गरेका थिए । उनले आफूले गरेको वित्तीय अनियमिततालाई समेत कोरोना महामारीलाई दोष लगाएर भाग्ने कोशिस गरेका थिए ।