काठमाडौँ । स्थानीय तह निर्वाचनपूर्वका सुरक्षा सरोकारका विषय र निर्वाचन सुरक्षाका लागि आवश्यक पर्ने स्रोत साधनको आकलन तथा व्यवस्थापनबारे गृह मन्त्रालयमा सरोकारवाला निकायहरुबीच छलफल भएको छ ।
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सोमबार संघीय मामला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, गृहसचिव टेकनारायण पाण्डे, रक्षा सचिव वेगेन्द्रराज शर्मा पौडेल, अर्थसचिव मधु मरासिनीलगायतको उपस्थितिमा स्थानीय तह निर्वाचनका सम्बन्धमा छलफल भएको हो ।
गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र आउँदै गरेको स्थानीय तहको निर्वाचनमा सुरक्षा सरोकार र आवश्यक पर्ने स्रोत साधनबारे छलफल भएको थियो । ‘आसन्न राष्ट्रियसभाको निर्वाचनमा गरिने सुरक्षा व्यवस्था र आउँदै गरेको स्थानीय तहको निर्वाचन सुरक्षाका लागि आवश्यक पर्ने स्रोत साधनको आकलन तथा व्यवस्थापनबारे छलफल भयो,’ प्रवक्ता कोइरालाले भने ।
बैठकमा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन एकै पटक गर्ने कि दुई पटक गरेर गर्ने भन्ने विषयमा छलफल भएको थियो । गृहमन्त्री खाण र सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनमा मतदाता र मतपेटिकाको सुरक्षाबारे धारणा राखेका थिए । अर्थसचिव मरासिनीले निर्वाचनका लागि आवश्यक पर्ने बजेट र सरकारसँग रहेको बजेटबारे जानकारी गराएका थिए । संघीय मामलामन्त्री श्रेष्ठ र सचिव सुरेश अधिकारीले निर्वाचनका लागि आवश्यक पर्ने कर्मचारी र मन्त्रालयका तर्फबाट उपलब्ध गराउन सकिने कर्मचारीबारे छलफलमा धारणा राखेका थिए ।
छलफलमा संघीय मामला तथा सामान्य प्रशासनसचिव सुरेश अधिकारी, परराष्ट्रसचिव भरत शर्मा पौड्याल, नेपाली सेनाका रथी बालकृष्ण कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, गृहको सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख मुकुन्दप्रसाद निरौला, प्रवक्ता प्रदीपकुमार कोइराला र नीति योजान अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख डा. भीष्मकुमार भुसाललगायतको उपस्थिति थियो ।
आगामी माघ १२ गते हुन गइरहेको राष्ट्रियसभाका १९ पदको निर्वाचनमा सुरक्षाबारे गृहमन्त्री खाणले आइतबार सुरक्षा समितिको बैठकमा छलफल गरेका थिए ।