काठमाडौँ । नेपाल कृषि मेसिनरी व्यवसायी संघले आफ्नो पाँचौँ राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शन चितवनमा गर्ने भएको छ । उक्त प्रदर्शनी आगामी माघ ५ गतेदेखि ८ गतेसम्म चितवनको भरतपुर महानगरपलिकास्थित चितवन एस्पो सेन्टरमा आयोजना गर्न लागिएको हो ।
संघले कृषकहरूलाई आधुनिक कृषियन्त्र तथा प्रविधिहरूको बारेमा जानकारी गराउने उद्देश्यले सरकारसँगको सहकार्यमा विगतदेखि नै यस्ता प्रदर्शनीहरू गर्दै आएको छ । यस वर्षको प्रदर्शनी पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकीकरण प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र संघको संयुक्त आयोजनामा हुनलागेको हो ।
उक्त प्रदर्शनीलाई शलोम एग्रीकल्चर प्रालिले प्रायोजन गर्नेभएको छ भने एनतिएस इन्डस्ट्रिज, जीसेभेन एग्रीकल्चर, एसकेटी नेपाल प्रालि, कुवेर एन्ड सन ट्रेड प्रालि, नेपाल चाइना एग्रीकल्चर सेन्टर, बीटीएल ट्रेड प्रालि, नयाँ तुल्सी ग्रुप र द हबी अटो ट्रेडिङ प्रालिले सहप्रायोजन गरेका छन् । यस्तै मेलाको सहयोगी संस्थाको रूपमा कृषि उद्यम केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद्, चितवन उद्योग संघ, कृषि सहकारी केन्द्रीय संघ र आरडी इनोभेट सोलुसन रहेका छन् ।
प्रदर्शनमा अवलोकनकर्ताले निःशुल्क प्रवेश गर्न पाउने आयोजकले जनाएको छ । साथै प्रदर्शनीमा एक सय ५० भन्दा बढी कृषियन्त्र, औजार, उपकरणहरू उपलब्ध हुनेछन् । चार दिनसम्म सञ्चालन हुने उक्त प्रदर्शनीमा २० भन्दा बढी मुलुकबाट दुई हजारभन्दा बढी प्रकारका उपकरण तथा प्रविधिहरू राखिने आयोजकले जनाएको छ । यस्तै संघले ७० जिल्लाबाट एक लाखभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरेको बताएको छ ।
साथै प्रदर्शनी कार्यक्रममा २० करोडभन्दा बढी कारोबार हुने अनुमान गरिएको छ । नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यन्त्रिकीकरण, औद्योगीकरण, आधुनिकीकरण, तथा व्यवसायीकरण गर्न टेवा पु-याउने उद्देश्यले प्रदर्शनी कार्यक्रम सञ्चालन गर्न लागिएको संघको भनाइ छ । यस प्रदर्शनीमा आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्प खेती, व्यावसायिक तरकारी खेती र प्रशोधन तथा बजारीकरणसम्बन्धी आधुनिक यन्त्र, उपकरण तथा प्रविधिका सामग्री, बीउबिजन, आधुनिक सिँचाइलगायतको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित कम्पनीहरूको सहभागिता रहनेछ ।
यस चार दिनको प्रदर्शनबाट कृषकहरूलाई आधुनिक कृषि प्रणालीमा सहयोग पुग्ने संघले जनाएको छ ।