वासिङ्टन । अमेरिकीहरुको किनमेल विदा सिजनका बेला ह्वात्तै बढेको छ । गत वर्षको तुलनामा अमेरिकी खुद्रा बिक्री आठ दशमलव पाँच प्रतिशतले बढेको एएफपीले जनाएको छ । नोभेम्बर १ यता क्रिसमस एभेसम्मको अवधिमा अनलाइन बिक्री ११ प्रतिशतले र स्टोरमा हुने बिक्री ८.१ प्रतिशतले बढेको मास्टरकार्ड स्पेन्डिङ पल्सको अध्ययनले देखाएको हो । बिक्री दर १७ वर्षयताकै राम्रो हो । यसमा अटोमोबाइलहरुको बिक्री समावेश नभएको बताइएको छ । कपडा बिक्री ४७.३ प्रतिशतले बढेको छ भने वर्षगत तुलनामा ज्वेलरीहरुको बिक्री ३२ प्रतिशतले बढेको छ । डिपार्टमेन्ट स्टोरमा हुने बिक्री २१.२ प्रतिशतले बढ्दा विद्युतीय सामग्रीहरुको बिक्रीमा १६.२ प्रतिशतको बढोत्तरी देखिएको छ । त्यस्तै किनमेल गर्न अमेरिकीहरु हतारिएको पनि अध्ययनले देखाएको छ ।