लण्डन । कच्चा तेलको मूल्य मंगलबार फेरि बढेको छ । रोयटर्सका अनुसार ब्रेन्ट क्रुड प्रतिब्यारेल ८० अमेरिकी डलर पुगेको हो । कोरोनाभाइरसको नयाँ भेरिएन्टको संक्रमण फैलिरहे पनि कच्चा तेल महंगो भएको हो । आपूर्ति प्रणालीमा समस्या आउँदा कच्चा तेल महंगो भएको बताइएको छ । ब्रेन्ट क्रुड प्रतिब्यारेलमै १.०४ अमेरिकी डलर अर्थात् १.३ प्रतिशतले बढेर ७९.६४ अमेरिकी डलर पुगेको हो । त्यस्तै अमेरिकी कच्चा तेल वेस्ट टेक्सास इन्टरमेडिएट पनि १.१५ डलर प्रतिब्यारेल अर्थात् १.५ प्रतिशतले बढेर ७६.७२ डलर पुगेको छ । इक्वेडर, लिबिया र नाइजेरियामा आपूर्तिमा समस्या आउँदा तथा अमेरिकी क्रुड इन्भेन्टरीमा कमी आउँदा कच्चा तेलको मूल्य बढेको विश्लेषक कम्पनी जियोभानी स्ट्याउनोभोले जनाएको छ ।