बेइजिङ । अर्बपति इलोन मस्कको चिनियाँ सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । बीबीसीका अनुसार चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा ठोक्किने गरी मस्कको कम्पनी स्पेस एक्सको स्टारलिंक इन्टरनेट सर्भिस परियोजनाका स्याटेलाइट अन्तरिक्षमा परिचालन गरेको भन्दै राष्ट्रसंघमा गुनासो गरेको सार्वजनिक भएपछि मस्कको चर्को आलोचना भएको हो । स्टारलिंक स्याटेलाइटसँग आफ्नो देशको अन्तरिक्ष स्टेसन यो वर्ष दुई पटक ठोक्किन लागेको चीनले दाबी गरेको छ । स्टारलिंक मस्कको कम्पनी स्पेस एक्सले सञ्चालन गरेको स्याटेलाइट इन्टरनेट नेटवर्क हो । विद्युतीय कार उत्पादक टेस्लाविरुद्ध चीनमा अनुसन्धानहरु भएका समाचार आइरहँदा चीनमा मस्कलाई सबैजसोले चिन्छन् । उक्त घटना जुलाई १ र अक्टोवर २१ मा भएको चीनले राष्ट्रसंघमा बुझाएको उजुरीमा उल्लेख छ । ‘सुरक्षाका लागि चाइना स्पेस स्टेसनले नठोक्किने गरी नियन्त्रण विधि अपनाएको थियो’, बेइजिङले संस्थाको वेबसाइटमा भनेको छ । स्पेस एक्सले भने यसबारे केही भनिसकेको छैन । यो कुरा सार्वजनिक भएसँगै मस्क, स्टारलिंक र अमेरिकाको चिनियाँ ट्विटरजस्तै वेइबो सामाजिक सञ्जालमा चर्को आलोचना भएको बतााइएको छ । स्टारलिंक स्याटेलाइटलाई अमेरिकाको अन्तरिक्ष हतियार भन्दै आलोचना भएको बताइएको छ । चीनले पनि अमेरिकाले अन्तरिक्षयात्रीलाई बाहिरी अन्तरिक्षसम्बन्धी सन्धि उल्लंघन गरी खतरामा पारेको आरोप लगाएको छ ।