काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडकोे महेन्द्रनगर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
महाकाली जनज्योति आधारभूत विद्यालयको प्रांगणमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा स्थानीय दुई सय ५० जनाको निःशुल्क स्वास्थ्य परीक्षण र औषधि समेत प्रदान गरिएको बैंकको महेन्द्रनगर शाखाका प्रमुख पहलमान ठकुल्लाले बताए ।
बैंकले प्रत्येक वर्ष समाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र सोहीअनुसार भीमदत्त–११ भुजेलामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । उक्त शिविरमा महाकाली प्रादेशिक अस्पतालका डा. गोविन्द रोकायालगायत १० जना स्वास्थ्यकर्मीको टोली रहेको थियो ।
गाउँघरमै आएर बैंकले निःशुल्क स्वास्थ्य चेकजाँच र औषधि प्रदान गरेकोमा खुशी लागेको कुरा स्थानीयहरूले जाहेर गरेका छन् । आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल एक सय तीनवटा शाखाहरूमार्फत करिब छ लाख ग्राहकहरूलाई उच्चस्तरीय वित्तीय सेवाहरू सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ ।
बैंकले ग्राहकहरूको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा इएमभी चीप बेस ट्राभल कार्ड, ई–कमर्स कार्ड डलर कार्ड जारी गरिसकेको जानकारी दिएको छ ।