काठमाडौँ । तोकिएको समय अर्थात् २०८० साल साउन पहिलो सातासम्म सक्ने लक्ष्यको साथ काम भइरहेको नागढुंगा सुरुङ्गमार्गमा मंगलबार एकैदिन १९ मिटर सुरुङ खन्ने काम भएको छ । सुरुङमार्गको काम सुरु भएको एक वर्षभन्दा बढीको अवधिमा यो नै एकै दिन सबैभन्दा बढी खनिएको नागढुंगा सुरुङ्गमार्ग आयोजनाले जनाएको छ ।
‘दैनिक सरदर छ/सात मिटर सुरुङमार्ग खन्ने योजनाअनुसार दैनिक काम भइरहेको छ’, सुरुङमार्गमा काम गरिरहेका एक इन्जिनियरले बुधबार आर्थिक दैनिकसित भने, ‘अहिले राम्रो रक (चट्टान) फेला परेको कारण मंगलबार एकै दिन १९ मिटर सुरुङ्ग खनियो । यसले निर्माण कम्पनीलाई धेरै हौसला मिलेको छ ।’
धादिङ्गको खत्रीपौवास्थित सिस्नेखोलाबाट काठमाडौंको चन्द्रागिरि नगरपालिका टुटीपाखासम्म मोटर चलाउने सुरुङ्गमार्ग दुई वर्ष अगाडिदेखि निर्माणाधीन छ । २६ सय ८८ मिटर लामो गाडी गुड्ने सुरुङमार्ग पूरै जमिनमुनि मानिसले मेसिन र विष्फोटक पदार्थ प्रयोग गरेर खन्ने काम भइरहेको छ । यो सुरुङमार्ग निर्माणले सडकको इतिहासमा एउटा नयाँ संरचना थप हुने मात्र होइन सडक निर्माणमा नयाँ अनुभव र सीपको विकास पनि इन्जिनियरहरुलाई हुनेछ ।
‘नागढुंगा सुरुङमार्ग’को शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल कात्तिक ४ गते गरेका थिए । ओलीले नागढुंगाको टुटीपाखामा शिलान्यास गरेको सुरुङ्गमार्गको काम टुटीपाखा र सिस्नेखोला दुवैतिरबाट भइरहेको छ । शिलान्यास गरेको झण्डै थप १४ महिनापछि २०७७ पुस ८ गतेबाट सुरुङमार्ग खन्ने काम थालिएको थियो ।
सुरुङमार्गको प्रयोगले थानकोटबाट १० मिनेटमा सिस्नेखोला पुग्न सकिन्छ । मेन टनेलको लम्बाइ २६ सय ८८ मिटर लामो छ भने त्यही मुख्य सुरुङ्गमार्गको समानान्तर रुपमा अगाडि बढेको सुरुङलाई इभ्याकुएसन टनेल भनिन्छ । यसको लम्बाइ २५ सय ५७ मिटर लामो छ । यो इभ्याकुएसन टनेलको निर्माण अहिले मुख्य सुरुङ खन्दा निस्कने माटो/ढुंगा निकाल्न र आवतजावतका लागि प्रयोग गरिएको छ भने पछि मुख्य सुरुङमा गाडी सञ्चालन हुनथालेपछि त्यहाँ हुने दुर्घटनालाई उद्धार गर्न प्रयोग गरिनेछ ।
यसलाई इमरजेन्सी टनेल पनि भनिन्छ । यदि काठमाडौंमा प्रवेश गर्ने अन्य राजमार्ग बन्न नसकेमा पछि त्यसलाई नियमित गाडी सञ्चालन गर्न पनि प्रयोग गरिनेछ । मुख्य सुरुङ्गबाट इभ्याकुएसन टनेल अर्थात् उद्धार मार्गमा प्रवेश गर्न प्रत्येक तीन सय ७५ मिटरमा क्रसपास सुरुङ बनाइएको हुन्छ । त्यसको लम्बाइ जम्मा एक सय २८ मिटर हुन्छ । यसको संख्या सातवटा छ ।