काठमाडौँ । नेपाल राष्ट्र बैंकले डलर सटहीसम्बन्धी नीतिमा पुनः संशोधन गरेको छ । राष्ट्र बैंकले बुधबार राष्ट्र बैंक स्वयंको सम्पूर्ण प्रदेशस्थित कार्यालय, वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरु समेतको नाउँमा परिपत्र जारी गर्दै डलर सटहीसम्बन्धी व्यवस्थामा संशोधन गरेको हो ।
संशोधित व्यवस्थाअनुसार अब भारतबाहेक अन्य मुुलुकहरुको भ्रमणमा जाने नेपाली नागरिकहरुलाई राहदानीबापत प्रतिपटक अमेरिकी डलर १५ सय वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्म सटही सुविधा पाउनेछन् । परिपत्रअनुसार यस्तो सटही सुविधा एक वर्षमा दुई पटकमा नबढ्ने गरी मात्र प्रदान गर्न सकिने राष्ट्र बैंकले जानकारी दिएको छ । राहदानीबापतको सटही सुविधा लिँदा सटही सुविधा लिनुुपर्ने कारण समेत खुलाएर फारम भर्नुपर्ने र स्रोतको स्वघोषणा समेत लिनुपर्नेछ ।
परिपत्रमा उल्लेख भएअनुसार राहदानीबापतको सटही सुविधा उपलब्ध गराउँदा सम्भव भएसम्म राहदानीवाहक स्वयं उपस्थित भएको हुुनुपर्नेछ । यसका साथै सटही सुविधा लिने व्यक्तिले सम्बन्धित निकायसँग सटही गरेको डलरको सुविधाका सम्बन्धमा लिखित सम्झौता समेत गर्नुपर्नेछ ।
सम्झौतामा ‘मैले यस राहदानीबापत सटही लिएको एक महिनाभित्र उद्देश्यबमोजिम यात्रा नगरेमा सो विदेशी मुद्रा बैैकमा दाखिला गर्नेछुु । साथै यस पटकको विदेश भ्रमणको लागि तोकिएको सीमाभन्दा बढी हुने गरी राहदानीबापतको सटही सुविधा अन्य कुुनै पनि संस्थाबाट नलिएको र सटहीबापतको रकम वैध स्रोतबाट प्राप्त भएको व्यहोरा समेत अनुरोध गर्दछुु ।
झुठा विवरण पेस गरी सटही लिएको ठहरेमा प्रचलित ऐन कानुनबमोजिम सजायको भागिदार म स्वयं हुुनेछु’ भनेर उल्लेख गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।