काठमाडौँ । अति दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । काठमाडौँको बसुन्धारा एरियामा अवैधरूपमा रेडपाण्डाको छालाको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी परिसर मिनभवनको प्रहरी टोलीले निगरानी राखी खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ हो ।
पक्राउ पर्नेहरूमा धादिङ गंगाजमुना सात घर भई हाल काठमाडौँको गोंगबु बस्ने वर्ष ३९ का निरबहादुर घले, सिन्धुपाल्चोक साँगाचोकगढी १३ घर भई हाल कलंकी बस्ने २५ वर्षीय सुरेश गिरी, नुवाकोट शिवपुरी दुई घर भई हाल टोखा बस्ने ३१ वर्षीय कृष्णबहादुर तामाङ र ओखलढुङ्गा मानेभञ्ज्याङ २ घर भई हाल स्वयम्भु बस्ने २९ वर्षीय मोहनकर्ण कार्की रहेका छन् ।
काठमाडौँको बसुन्धारामा रहेको मयुर क्याफेमा रेडपाण्डाको सिंगो शरीरसहितको चार थान छाला ३० लाख रूपैयाँमा मोलमोलाइ गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ बमोजिम आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तिसार पठाइएको प्रहरीले जनाएको छ ।