काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सीमा नाकाबाट सहजरूपमा सामान आयात निर्यात हुने व्यवस्था गर्न चीनसँग आग्रह गरेकी छिन् ।
चीनतर्फका तातोपानी र रसुवाको केरुङ नाकाबाट अझै पनि सामान आयात निर्यातमा कठिनाइ भएको व्यवसायीहरूले गुनासो गर्दै आइरहेका छन् । उक्त गुनासो सम्बोधनका लागि मन्त्री रेग्मीले आयात निर्यातमा कठिनाइ भोग्ने अवस्था अन्त्य गर्न आग्रह चीन सरकारसँग आग्रह गरेकी हुन् ।
चाइना फाउन्डेसन फर पोभर्टी एलिभेसन नेपालको छैटौँ वार्षिक उत्सव कार्यक्रममा मन्त्री रेग्मीले दुःख परेको बेला सहयोग गर्ने छिमेकी नै हुने भन्दै नाका सहज गरिदिन आग्रह गरिन् । साथै उनले भारतीय नाकाबन्दीको बेला नेपालले चीनबाट उल्लेख्य सहयोग पाएको समेत बताइन् । यस्तै सीमा नाकाबाट सहजरूपमा सामान भित्रिन पाउनुपर्ने उनको भनाइ थियो ।
चीनबाट भूकम्प, कोभिडजस्ता महामारीमा सहयोग रहँदै आएको भन्दै उनले आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा राखेको बताइन् । कोभिडको समयमा खोप प्रदान गरेर चीनले नेपाललाई गुण लगाएको उनको भनाइ थियो । अहिले पनि चीनबाट खोप आइरहेको उनले उल्लेख गरिन् ।
गरिबी निवारणसम्बन्धी नेपालमा रहेको चाइनिज फाउन्डेसनले गरेको कार्यक्रममा मन्त्री रेग्मीले फाउन्डेसनलाई परेको समस्या समाधानका लागि सहजीकरण गर्ने प्रतिबद्धता समेत जनाइन् ।