काठमाडौँ ।‘स्टडी इन अष्ट्रेलिया’ भन्ने मूलनाराका साथ आगामी मङ्गलबार राजधानीमा प्रथम अष्ट्रेलियन शैक्षिक मेला आयोजना हुने भएको छ । नोभा एजुकेसन एण्ड कन्सल्टिङ सर्भिसेजले आगामी पुस २० गते मङ्गलबार काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा शैक्षिक मेला आयोजना गर्नलागेको हो ।
शैक्षिक मेलामा अष्ट्रेलियामा विभिन्न विषयमा पढ्न चाहने विद्यार्थीहरुको लागि अस्ट्रेलियाको कलेज र युनिभर्सिटीका साथै शैक्षिक ऋण र बीमा सेवा समेत गरी १५ वटा संस्थाहरुको सहभागिता रहने आयोजक पक्षले जानकारी गराएको छ । प्रथम अष्ट्रेलियन शैक्षिक मेला यस वर्ष कक्षा ११, १२ अध्ययन गर्दै रहेका र कक्षा १२ को परीक्षा सकेर बसेका साथै ब्याचलर्स र मास्टर्सका हजारौं विद्यार्थीको सहभागिता रहने नोभाका कार्यकारी निर्देशक रमण कोइरालाले बताए ।
यस वर्षको अष्ट्रेलियन शैक्षिक मेलामा अष्ट्रेलियाबाट कलेज र विश्वविद्यालयहरू, शैक्षिक ऋण प्रदायकको लागि एनएमबी बैंक, आईईएलटीएसको लागि आईडीपी आईईएलटीएस, शैक्षिक बीमाको लागि एल्लियान्ज पार्टनर्स संस्थाहरुको सहभागिता रहने छ । मेलामा छात्रवृत्ति, पोष्ट स्टडी वर्क (अध्ययनपछि काम) र रिजनल क्याम्पस (क्षेत्रीय क्याम्पस) बारे पनि जानकारी दिइनेछ । एक सय सहभागीहरूलाई निःशुल्क आईईएल्टीएस वा पीटीई कक्षाहरू उपलब्ध गराइनेछ भने र एक भाग्यशाली विजेतालाई अष्ट्रेलियाको निःशुल्क हवाइ भाडा दिइने आयोजक पक्षले जनाएको छ ।
यस वर्षको नोभाद्वारा आयोजित प्रथम अष्ट्रेलियन शिक्षा मेला २०२२ को उद्घाटन फेलिसिटी भोल्क नेपालका लागि अष्ट्रेलियाली राजदूतद्वारा हुने भएको छ । यो मेलामा विद्यार्थीले आफुले अष्ट्रेलियामा जान आवश्यक शैक्षिक परामर्श निःशुल्क लिन पाउने र थुप्रै उपहारहरुका साथै छत्रवृत्तिको पनि व्यवस्था भएको आयोजकको भनाइ छ । मेलाको इभेन्ट मेनेजर इन्टरडक्सन ट्रेड सो नेपाल प्रालि रहेको छ ।