काबुल । गरिबी घटाउने, समुदायहरूको लागि सामाजिक–आर्थिक अवस्था सुधार गर्ने र युवाहरूको बसाइँसराइलाई रोक्ने उद्देश्यका सात सञ्चालित नागरिक चार्टर राष्ट्रिय प्राथमिकता कार्यक्रम (सीसीएनपीपी) का कम्तीमा सात हजार परियोजनाहरू अफगानिस्तामा अधूरा रहेका छन् । सन् २०१६ मा सुरु भएका ती राष्ट्रिय कार्यक्रमलाई तीन चरणमा विभाजन गरिएको अर्थ मन्त्रालयले सोमबार जनाएको छ । कार्यक्रमको पहिलो चरण २०२२ को अन्त्यमा सम्पन्न हुने अपेक्षा गरिएको टोलो न्यूजले जनाएको छ । मन्त्रालयका प्रवक्ता अहमद वली हकमलले कार्यक्रमको पहिलो चरणमा देशभर कम्तिमा १२ हजार आयोजना कार्यान्वयन गर्न एक अर्ब अमेरिकी डलर विनियोजन गरिएको र १२ हजार आयोजनामध्ये सात हजार अधूरा रहेको बताएका छन् । ‘करिब सात हजार आयोजनाहरू अधूरा छन् । कम्तीमा आधा सकिएका आयोजना पूरा गर्न विश्व बैंकसँग सम्पर्क गर्ने प्रयास गरिरहेका छौँ’, हकमलले भने । देशमा आयोजनाहरूको कार्यान्वयन ठप्प भएकाले गरिबीको दर बढ्ने विज्ञहरुको विश्वास रहेको टोलो न्युजले जनाएको छ । ‘परियोजनाहरू धेरैजसो विश्व बैंकले अनुदान दिएका थिए । गाउँमा विकास आयोजनाहरू रोकिएमा गाउँलेहरूको गरिबी बढ्छ’, विज्ञ अब्दुल नसीर रेष्टियाले उल्लेख गरे। हजारौं साना र ठूला परियोजनाहरू कार्यान्वयन गर्न दश वर्षमा निर्धारित थियो तर अगस्टको मध्यमा तालिबानले अफगानिस्तानको नियन्त्रणमा लिएपछि यो सबै स्थगित भएको छ ।