जकार्ता । इन्डोनेसियाले बोइङ ७३७ म्याक्सजेटमाथिको प्रतिबन्ध हटाएको छ । लायन एयरको उक्त मोडलको विमान दुर्घटना हुँदा तीन वर्षअघि एक सय ८९ जनाले ज्यान गुमाएका थिए ।
त्यसपछि इन्डोनेसियाले उक्त मोडलका विमान उडानमै प्रतिबन्ध लगाएको थियो । यो मोडलको विमान बोइङले धेरै बेच्दै आए पनि इथियोपियामा सोही विमान उही प्रकृतिको दुर्घटनामा परेपछि विश्वभर ग्राउन्डेड गरिएका थिए । इथियोपियन एयरले पनि फेब्रुअरीदेखि विमानलाई उडानमा फर्काउने जनाएको छ ।
युरोप र अमेरिकामा भने यसअघि नै उक्त मोडलका विमानहरु उडानमा फर्किसकेका छन् । योसँगै अस्ट्रेलिया, जापान, भारत, मलेसिया र सिंगापुरसहित एक सय ८० देशले म्याक्सजेट विमानलाई उडान गर्न दिएका छन् । इन्डोनेसियाको यातायात मन्त्रालयले एक वक्तव्यमा तत्कालै उडान खुला हुने गरी प्रतिबन्ध हटाइएको बताएको छ ।
दुर्घटनापछि कम्पनीले एयरक्राफ्टको प्रणाली नै परिवर्तन गरेको थियो । त्योसँगै यसको प्रतिबन्ध खुल्दै आएको छ । लायन एयरसँग १० वटा म्याक्स विमानहरु रहेका छन् । कम्पनीले भने यसबारे केही बोलेको छैन ।