काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल क्लियरिङ हाउसबीच सम्झौता भएको छ । सन नेपालको विभिन्न भुक्तानीसम्बन्धी कारोबारहरूलाई स्वचालित रूपमा गर्नको लागि यस्तो सम्झौता गरिएको कम्पनीले जानकारी दिएको छ ।
सम्झौतामा सन नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौतापशचात् सन नेपालले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई)सँग जोडी उपलब्ध विभिन्न भुक्तानी प्रणालीहरू प्रयोग गरेर डिजिटल माध्यमबाट भुक्तानी संकलन तथा खर्चको कारोबारहरू स्वचालित रूपमा गर्न सक्नेछ ।
यो प्रणालीमार्फत सन नेपालले आफ्नो बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानीलगायत आफ्ना लगानीसम्बन्धी कारोबारहरू आबद्ध भएका बैंक खाताहरूबाट सोझै गर्न सक्नेछन् । यसबाट लाभग्राहीले कम्पनीबाट भुक्तानी प्राप्त गर्न कम्पनी नै पुग्नुपर्ने वा चेक लिनुपर्ने व्यवस्थाको अन्त्य हुने जानकारी पनि कम्पनीले दिएको छ ।
साथै भुक्तानी सोझै आफ्नो बैंक वित्तीय संस्थाको खातामा प्राप्त गर्न सक्नेछन् । सन नेपाल लाइफले आफ्नो विभिन्न खाताहरूमा रहेको रकमलाई समेत सहजै आफ्नो अपरेटिङ खातामा सार्न सहयोग पु-याउनेछ ।