काठमाडौं । इजीलिंक रेमिट्यान्स प्रालि र कृषि विकास बैंकबीच आन्तरिक विप्रेषण भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा कृषि विकास बैंकका प्रमुख सञ्चालन अधिकृत यज्ञ प्रकाश न्यौपाने, विभागीय प्रमुख अजय कुमार रिमाल र इजीलिंक रेमिट्यान्स प्रालिका प्रमुख कार्यकारी अधिकृत डोल प्रसाद अर्याल तथा प्रबन्ध निर्देशक दिपेन्द्र खनालले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात् अब कृषि विकास बैंक लिमिटेडमार्फत पठाएको आन्तरिक विप्रेषणको रकम इजीलिंक रेमिट्यान्सको नेपालभरि छरिएर रहेका सात हजारभन्दा धेरै एजेन्टहरूमार्फत सजिलै भुक्तानी लिन सकिने भएको छ । छिटो, छरितो र सहज तरिकाले विप्रेषण रकमलाई सेवाग्राहीसम्म पु-याउन यो सम्झौताले थप सहज हुने प्रमुख कार्यकारी अधिकृत अर्यालले बताए । हाल इजीलिंक रेमिट्यान्स प्रालिले ग्राहकको चाहनालाई मध्यनजर गर्दै कोरिया, जापान, साइप्रस, अष्ट्रेलियालगायत विश्वका विभिन्न मुलुकहरूबाट पठाएको रकम कृषि विकास वैंकको देशभरि रहेका शाखाहरूमार्फत सहजै भुक्तानी लिन सकिने साथै ग्राहकको खातामा विदेशबाट आएको रकम पाँच मिनेटमै जम्मा हुने व्यवस्था मिलाएको छ । ग्राहकलाई भुक्तानीमा कुनै समस्या परेमा सिधै कम्पनीको फोन नम्बर ०१–४३८८३७५ मा तुरुन्त सम्पर्क गर्न सकिने व्यवस्था रहेको कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र खनालले जानकारी गराए ।