काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय परीक्षा बोर्डबीच पेसाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले मंगलबार हस्ताक्षर गरेका छन् । सम्झौता भएपश्चात् दुईवर्ष सेवाअवधि पूरा गरेका बोर्डका कर्मचारीहरूलाई बोर्डको सिफारिसमा अधिकतम १५ लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधीनमा रही बैंकले पेसाकर्मी सरल कर्जा प्रवाह गर्नेछ । बैंकले आधार दरमा दुई प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्नेछ । हाल बैंकको आधार दर पाँच दशमलव ५१ प्रतिशत रहेको छ । सम्झौताअनुसार बोर्डको कर्मचारीहरूको तलबी खाता बैंकले सञ्चालन गर्नेछ । यस सम्भौतापश्चात् दुवै पक्ष लाभान्वित भई बोर्डका कर्मचारीहरूको सम्मानपूर्वक जीवनयापन गर्नमा विशेष योगदान पुग्ने विश्वास गरिएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले विद्यार्थीहरूले बोर्डलाई बुझाउने शुल्कहरूलाई डिजिटल प्रविधिबाट भुक्तानी गर्ने व्यवस्था गर्न दुवै संस्था मिलेर अगाडि बढ्ने बताए । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले दुई संस्थाबीचको लामो सम्बन्धलाई व्यावहारिक र वस्तुपरक बनाउँदै लैजाने बताए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत सरस्वती अधिकारी, विभागीय प्रमुख पवन रेग्मी, राज्य लक्ष्मी खड्गी, शाखा प्रबन्धक सरोज कोइराला, उपप्रबन्धक खिलराज भट्टराईलगायत कर्मचारीहरूको उपस्थिति थियो   ।