काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनीले चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीसँगको सेटिङमा बिग्रेर कामै नलाग्ने अवस्थामा पुगेको मेसिनको लागि १० करोडभन्दा बढी दाबी भुक्तानी गर्ने प्रक्रिया अघि बढाएको छ ।
विनोद चौधरीको लगानी रहेको नवलपरासीस्थित सन गोल्ड ब्रुअरीमा गत जेठ १९ गते बिहानदेखि आगोलागी भएको थियो । सो दिन बिहान ८ बजेदेखि लागेको आगो अपराह्न मात्रै नियन्त्रणमा आएको थियो । सीजी ग्रामको उद्योग परिसरभित्र आगो लागेको एक घण्टासम्म कोही पनि व्यक्तिलाई छिर्न नदिइएको स्थानीयबासीको भनाइ छ । दमकल समेत गेटमा निकै समय प्रतीक्षा गरेपछि मात्रै भित्र छिर्न दिइएको स्रोतको दाबी छ ।
सो आगोलागीमा कुल २४ करोड बीमा दाबी परेको जनाइएको छ । गोदाममा राखिएको मालवस्तु तथा मुख्य मेसिन जलेर खरानी भएको भन्दै बीमा दाबी प्रक्रिया अघि बढाइएको छ । स्रोतका अनुसार अर्को एक इन्स्योरेन्स कम्पनीले स्थानीय सर्भेयर परिचालन गर्नुपर्नेमा काठमाडौंबाट सेटिङमा सर्भेयर पठाए चौधरी ग्रुपमा जलेका रित्तो कार्टुनलाई चाउचाउ भरिएको भन्दै सर्भे रिपोर्ट तयारी पार्ने काम गरिएको छ ।
चौधरी ग्रुपले उत्पादन गर्दै आएको नेपाल आइस नामक बियर उत्पादन गर्ने मेसिन निकै पुरानो भइसकेको थियो । सोही मेसिन रिप्लेस (प्रतिस्थापन) गर्न आगोलागीको योजना बनाइएको स्रोतको दावी छ । सो योजनाबद्ध आगोलागीमा शिखर इन्स्योरेन्स कम्पनीले कमिसन लिएर सेटिङ मिलाएको जनाइएको छ । चितवनमा कार्यरत बीमा सर्भेयरहरुलाई कुनै खबर नै नदिई काठमाडौंबाट सेटिङमा सर्भेयर पठाएर सन गोल्ड ब्रुअरीको पुरानो मेसिनलाई नयाँ मेसिनसरह मूल्याङ्कन गरी १० करोडभन्दा बढी दाबी भुक्तानीको प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
बीमा दाबी भुक्तानीको लागि सर्भेयर रिपोर्ट बनाउँदा आंशिक क्षतिभन्दा पूर्ण क्षति भएको प्रतिवेदन बनाउन सजिलो तथा सर्भे शुल्क समेत बढी प्राप्त हुने हुँदा सर्भेयरले समेत आंशिक क्षति भएको चौधरी ग्रुपको बियर उत्पादन गर्ने मेसिनलाई पूर्ण क्षतिको प्रतिवेदन बनाएको स्रोतको दाबी छ ।
जेठ १९ गते आगोलागी हुँदा सीजी ग्रामभित्रको वाइवाइ चाउचाउको गोदाममा धेरै चाउचाउ थिएन । बरु खाली कार्टुन राखेर आगो लगाइएको स्थानीयबासीको भनाइ छ । आगोलागी सकिएपछि बाँकी रहेको अवशेषमा खाली कार्टुनहरु समेत भेटिएको स्थानीयबासीहरुले देखेका थिए । गोदाममा खाली कार्टुन, पुरानो भइसकेको मूल्यहीन मेसिन आगोमा जलेपछि त्यसको मारमा नेपाली जनता परेका छन् । आम जनताले तिरेको बीमा शुल्कबाट शिखर इन्स्योरेन्स कम्पनीले १० करोडभन्दा बढी रकमलाई भुक्तानी गर्ने योजना अघि बढाइएको छ ।
बीमा भनेको आम नागरिकका बीचमा बीमा शुल्क भुक्तानी गरी जोखिम बाँडफाँट गरिएको हुन्छ । अर्थात् सबैले सामूहिक रुपमा भुक्तानी गर्ने र प्राकृतिक विपत्ति आउँदा त्यस्तो विपत्ति भोग्ने बीमितलाई दाबी भुक्तानी गर्ने गरिने विधि नै बीमा हो । बीमितहरुले भुक्तानी गरेको बीमा शुल्क जोखिमका आधारमा निर्धारित गरिएको हुन्छ ।
बीमा दाबी भुक्तानी नक्कली तथा सेटिङमा हुँन जाँदा बीमा शुल्क वृद्धि हुने गर्दछ । बीमितहरुको रकम देशकै एक मात्रै अर्बपतिलाई सेटिङमा खुवाउन लागिएको घटनामा कम्पनीका सीईओ दीप प्रकाश पाण्डेदेखि तल्ला तहका कर्मचारी तथा चितवन शाखाका प्रमुखहरुसम्मको मिलेमतो रहेको भन्दै बीमा क्षेत्रमा आलोचना भइरहेको छ ।