काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी कार्ड तथा डिजिटल बैंकिङमार्फत गरिने कारोबारहरूमा छुट तथा क्यास ब्याक प्रदान गर्ने योजनाहरू सार्वजनिक गरेको छ । बैंकले वार्षिकोत्सवको मौका पारेर आफ्ना ग्राहकहरूलाई पुस १५ गतेबाट माघ १५ सम्म (एक महिना)का लागि मोबाइल बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराउनेछ । यसका साथै, वार्षिकोत्सवकै अवसर ग्राहकहरूलाई थप छुट प्रदान गर्ने उद्देश्यका साथ पहिलो पटकको क्यूआर कारोबार, पस मेसिनमार्फत गरिने कारोबार तथा ईकम कारोबारमा १५ प्रतिशत अथवा तीन सय रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने बैंकले जनाएको छ । यही पुस १७ गतेदेखि लागू हुने क्यास ब्याक योजना सीमित अवधिका लागि रहने बैंकले जानकारी दिएको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले ७६ जिल्लामा बैंकको दुई सय ८७ शाखा, दुई सय ५२ एटीएम, दुई सय ६३ शाखारहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब आठ सय ५० सेवा केन्द्रबाट २७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ ।