काठमाडौँ । बीमा समितिको आयोजनामा वीरगञ्ज महानगरपालिकामा बीमासम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी, उपप्रमुख शान्ति कार्की, बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल तथा निर्देशक दिनेश कुमार लाल, वीरगञ्ज महानगरपालिकाका वडा अध्यक्ष, सदस्य तथा प्रमुख प्रशासकीय अधिकृतलगायत कर्मचारीहरू, विभिन्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, शिक्षक, सञ्चारकर्मीलगायत गरी ७० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले बीमासम्बन्धी जनचेतना अभिवृद्धिका लागि स्थानीय तहसँगको समन्वयमा बीमा समितिले वडा वडामा कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए । उनले महानगरपालिकाले गत आर्थिक वर्षमा कृषि बीमामा अनुदानका लागि १५ लाख छुट्याएको तर बीमासम्बन्धी जानकारीको अभावमा उक्त रकम उपयोगमा नआएको बताए ।
प्रमुख सरावगीले कृषि बीमा लागतमा मात्र आधारित नभई बाली काटेपछि समेतको सबै सुविधासहित आएमा कृषि बीमाप्रति आकर्षण बढ्ने उल्लेख गर्दे जोखिम विश्लेषण गरेर बीमाको प्रिमियम तोक्नुपर्ने र २५ हजार छुटको दायरा बढाउनुपर्ने विचार व्यक्त गरेका छन् ।
साथै, उनले कृषि बीमाको प्रिमियममा अनुदान दिएजस्तै निजी सम्पत्ति बीमाको प्रिमियममा पनि सरकारले अनुदान दिनुपर्ने र अनलाइनबाट बीमा प्रिमियम संकलन तथा बीमा दाबी भुक्तानीको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए ।
परम्परागत बीमालेखको सट्टामा हालको आवश्यकताअनुसारको बीमालेख ल्याउन, अतिरिक्त रकम नपाई काम नगर्ने बीमा सर्भेयरलाई कारबाही गर्न र सहरी क्षेत्रमा मात्र सीमित नभई गाउँ टोलसम्म बीमा कम्पनीहरू अनिवार्यरुपमा जाने व्यवस्था गर्न बीमा समितिसँग उनले आग्रह गरेका थिए । प्रमुख सरावगीले बीमासम्बन्धी नीति निर्माणमा महानगरपालिकालाई सहयोग गर्न र नगरपालिका महासंघका पदाधिकारीहरूसँग समेत बीमासम्बन्धी अन्तरक्रिया गर्न आग्रह गरेका थिए ।
बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले देशमा बीमाको पहुँच विस्तारका लागि बीमासम्बन्धी विद्यमान व्यवस्थामा के–कस्ता सुधार गर्नुपर्छ र बीमालेखमा कस्तो किसिमको परिमार्जन गर्नुपर्छ भन्ने सम्बन्धमा स्थानीय सरकारहरूबाट सुझाव लिने उद्देश्यले समेत कार्यक्रम आयोजना गरिएको बताए । अध्यक्ष सिलवालले जेष्ठ नागरिकहरूलाई समेत बीमाको दायरामा ल्याउन महानगरसँग आग्रह गर्दै बीमा नीति निर्माणमा सहयोग गर्न समिति तयार रहेको बताए ।
उनले कृषि तथा पशुपन्छी बीमालेखमा सरलीकृत गरिने जानकारी दिँदै बीमा कम्पनीहरूलाई झुक्याएर बीमा गर्न आकर्षित गर्ने खालका विज्ञापन नगर्न र कृषि तथा पशुपन्छीसहित सबै बीमाको दाबी भुक्तानी तत्काल गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिइएको बताए । अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले गुणस्तरीय सेवा दिनुपर्ने आवश्यकता औँयाउँदै नगरपालिका महासंघ र गाउँपालिका महासंघसँग पनि बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिने बताए ।
कार्यक्रममा बीमा समितिका निर्देशक दिनेश कुमार लालले बीमाको महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया र बीमाको दायरा विस्तारमा स्थानीय तहको भूमिकालगायतका विषय समेटिएको बीमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका वडा अध्यक्षलगायत सहभागीहरूले बीमा कम्पनीहरूले प्रलोभन देखाएर बीमा गर्ने तर बीमा दाबी भुक्तानी नदिने गरेको, बीमा शिक्षाको अभाव भएको, धेरै कमिसन दिने धनी व्यक्तिको बीमा गराउन बीमा अभिकर्ता तथा एजेन्ट जाने तर न्यून आय भएका विपन्न वर्गलाई भने वास्ता नगर्ने गरेको गुनासो गरे ।
साथै, उनीहरूले ज्येष्ठ नागरिकका लागि बीमाको छुट्टै व्यवस्था गर्न, बीमालेखका सेवा सर्तलाई सरल एवं छोटो बनाउन, स्वास्थ्य बीमामा देखिएका विसंगति हटाउन र वडा–वडामा बीमासम्बन्धी चेतनामूलक कार्यक्रमहरू आयोजना गर्न आग्रह गरे ।