वासिङ्टन । बेरोजगार राहतका लागि आवेदन दिने अमेरिकीको संख्या घटेर दुई लाखमुनि बसेको छ । यसले अमेरिकी रोजगारी बजार बलियो रहेको देखिएको एपीले जनाएको छ ।
रोजगारी नभएकाहरुको संख्या आठ हजारले घटेर एक लाख ९८ हजारमा झरेको लेबर डिपार्टमेन्टले बिहीबार बताएको हो । चार हप्ते औसतमा यस्तो संख्या घटेर एक लाख ९९ हजारमा आइपुगेको छ जुन सन् १९६९ अक्टोबरयताकै न्यून भएको बताइएको छ । यद्यपि द्रुतगतिमा फैलिरहेको ओमिक्रोनले प्रभाव पार्न भने सक्नेछ ।
सँगसँगै १७ लाख अमेरिकीले परम्परागत बेरोजगारी राहत लिइरहेकामा डिसेम्बर १८ मा त्यसको म्याद सकिएको थियो । मार्च २०२० यता त्यो पनि न्यून विन्दुमा आइपुगेको हो । त्यतिबेला यस्तो राहत लिनेको संख्या एक लाख ४० हजार थियो ।
अमेरिकामा गत अक्टोबरमा एक करोड १० लाख रोजगारी खुलेका थिए । धेरै अवसर हुँदा ४२ लाखले रोजगारी छोडेका थिए । सेप्टेम्बरमा यस्तो संख्या ४४ लाख थियो । गत वर्ष कोरोनाले कमजोर पारे पनि यो वर्ष रोजगारी बजार लयमा फर्किएको छ । कोरोनाको बेलाा लकडाउनलगायतका कडाइ गर्दा धेरै व्यवसाय बन्द भएका थिए ।
रोजगारदाताले दुई करोड २० लाख रोजगारी २०२० को मार्च र अप्रिलमा बन्द गरेका थिए । त्यतिखेर बेरोजगारी दर बढेर १४.८ प्रतिशत पुगेको थियो । तर सरकारले गरेको व्यापक खर्च, खोप लगाउने अभियानलगायतका प्रयासले अर्थतन्त्र जोगियो । रोजगारदाताले २०२० को अप्रिलयता एक करोड ८५ लाख रोजगारी थप गरेका छन् । यसका बाबजुद महामारीअघिकै अवस्थामा भने पुग्न सकेको छैन ।
डिसेम्बरको रोजगारी अवस्थाको प्रतिवेदन अर्को हप्ता आउनेछ । त्यसमा यो महिना तीन लाख ७४ हजार रोजगारी सिर्जना गरेको हुनसक्ने अनुमान गरिएको छ । अहिले अमेरिकाको बेरोजगारी दर ४.२ प्रतिशतमा झरेको छ ।