काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकमा भएको १६ करोड रुपैयाँ अपचलनसम्बन्धी मुद्दा टुंगोमा नपुगेपछि एमएण्डएम रेमिटले उक्त मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने तयारी गरेको छ ।
नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक, सेञ्चुरी कमर्सियल बैंकको करेस्पोन्डेड बैंक मसरिक बैंक र सेञ्चुरी कमर्सियल बैंक स्वयंले पनि उक्त समस्यालाई समाधान गर्न ठोसरुपमा कार्य नगरेपछि उक्त घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने तयारी गरेको एमएण्डएम रेमिटका अध्यक्ष सुमन पन्त (जो हाल मौरिससमा नै रहेका छन्)ले बताएका छन् ।
‘घटना पुरानो हो, लामो समयदेखि सेञ्चुरी बैंकले यो समस्या समाधान गर्छु भन्दै आएको छ तर अहिलेसम्म पनि कुुनै प्रगति नभएपछि हामीले यो प्रकरणलाई अन्तर्राष्ट्रियकरण गर्ने तयारी गरेका हौँ’, पन्तले भने । पन्तका अनुसार सेञ्चुरी कमर्सियल बैंक र मौरिससमा दर्ता कायम रहेको एमएण्डएम रेमिटबीच रेमिट्यान्स कारोबारको लागि आधिकारिक सम्झौता भएको थियो । सोही सम्झौताबमोजिम दुुवै कम्पनीहरुले रेमिट्यान्स कारोबार गर्दै आएका थिए ।
पछि सेञ्चुरीले हङकङमा रहेको ग्यालेक्सी रेमिट्यान्स कम्पनीलाई चिनाएको थियो । ग्यालेक्सी रेमिट्यान्स सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत जीवन कुमार भट्टराई र रमेश कुमार श्रेष्ठको संलग्नतामा खुुलेको कम्पनी हो । यी दुई व्यक्तिहरु सेञ्चुरीकै तत्कालीन प्रमुुख कार्यकारी र सञ्चालक हुुन् । सेञ्चुरी कमर्सियल बैंकले आधिकारिक रुपमा नै एमएण्डएम रेमिटसँगको कारोबार गर्दै आएको थियो । सोहीअनुरुप कारोबार गर्दै जाँँदा एमएण्डएम रेमिटले हङकङको ग्यालेक्सी रेमिटसँग १६ करोड रुपैयाँ लिनुुपर्ने देखियो भने एमएण्डएम रेमिटले सेञ्चुरी कमर्सियल बैंकलाई छ करोड रुपैयाँ भुक्तानी दिनुुपर्ने देखियो ।
सोअनुुरुप सेञ्चुरीले एमएण्डएम रेमिटलाई छ करोड रुपैयाँ तिर भनेर ताकेता ग-यो । सोपश्चात् एमएण्डएम रेमिटका अध्यक्ष पन्तले एमएण्डएम रेमिटले ग्यालेक्सी रेमिट्यान्ससँग सेञ्चुरीले नै भनेको आधारमा कारोबार गरेको र ग्यालेक्सीसँगै उल्टै आफ्नो कम्पनीले १६ करोड रुपैयाँ लिनुपर्ने दायित्व देखिएको जवाफ पठाए ।
तर सेञ्चुरी कमर्सियल बैंकको वर्तमान व्यवस्थापनले भने ग्यालेक्सी र एमएण्डएम रेमिटबीचको कारोबार बैंकको पुरानो व्यवस्थापन र पुरानो सञ्चालकले गरेको र त्यो कारोबार उनीहरुको नितान्त व्यक्तिगत रहेको भन्दै त्यो समस्या समाधान गर्ने दायित्व पनि पुरानै सञ्चालक र व्यवस्थापनको भएकाले बैंकको वर्तमान सञ्चालक तथा व्यवस्थापनले उक्त कारोबारको दायित्व नबोक्ने भन्दै पन्छिँदै आएको एमएण्डएम रेमिटका अध्यक्ष पन्तले पन्तको भनाइ छ ।
सो विषयमा एमएण्डएम रेमिटका अध्यक्ष पन्तले भने, ‘सेञ्चुरीले एमएण्डएम रेमिटसँग आधिकारिकरुपमा सम्झौता गरेपश्चात् नै कारोबार गरेको र अहिले त्यो कारोबार आफ्नो होइन भन्न कसरी पाउँछ ? बैंक, बैंक नै हो, सम्झौता सम्झौता नै हो, बैंकका आधिकारिक व्यक्तिले सम्झौता गरेपछि त्यो पुरानो व्यवस्थापनले गरेको काम हो, नयाँ व्यवस्थापनले यसको जिम्मा लिँदैन भनेर कसरी भन्न पाउँछ ?’सेञ्चुरी कमर्सियल बैंकमा भएको रकम अपचलनसम्बन्धी घटनाका बारेमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग जानकारी माग्दा उनले यसबारेमा आफूलाई जानकारी नहुने र नभएको बताए ।
गभर्नर अधिकारीलाई सेञ्चुरी र एमएण्डएम रेमिटको बारेमा भएको विवादको बारेमा जानकारी दिँदा उनले भने यो सबै कुराको जानकारी राख्ने व्यक्ति गुणाकरजी (राष्ट्र बैंकका प्रवक्ता) भएको र उहाँलाई सोध्नुहोस नै है भन्ने जवाफ दिए । यदि एमएण्डएम रेमिटलाई उक्त प्रकरणलाई अन्तर्राष्ट्रियकरण ग-यो भने नेपाली बैंकहरुलाई त्यसको असर कस्तो पर्छ भन्ने प्रश्नमा पनि गभर्नर अधिकारीले यसबारेमा आफूलाई जानकारी नभएको बताए । सोपश्चात् उक्त विषयमा जानकारी माग्नको लागि राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टसँग पटक–पटक फोन सम्पर्क गरे पनि फोन उठेन ।
सोही प्रकरणमा मसरिक बैंक नेपाल च्याप्टरकी प्रमुख हेमा अधिकारीसँग उक्त घटनाबारे जानकारी माग्दा यसमा मसरिकको खासै भूमिका नहुने बताइन् । ‘सेञ्चुरीको लागि हामीले करेस्पोन्डेन्ट बैंकको रुपमा काम गर्ने हो तर मलाई सेञ्चुरी र एमएण्डएम रेमिटका बीचमा के विवाद छ, त्यसको बारेमा जानकारी छैन’, उनले भनिन्, ‘यदि यसमा मसरिकको भूमिका हुन्थ्यो भने सेन्ट्रल बैंकले हामीलाई पनि पत्र काट्थ्यो, सेन्ट्रल बैंकबाट हामीलाई अहिलेसम्म त्यस्तो कुुनै पत्र आएको छैन ।’
सोही विषयमा सेञ्चुरी कमर्सियल बैंकका प्रतिनिधिले भने सेञ्चुरी र एमएण्डएम रेमिटबीच भुक्तानीसम्बन्धी पुरानो विवाद रहेको स्वीकारेका छन् । अहिले उक्त विवाद सेटलमेन्टतिर गएको भन्दै ती प्रतिनिधिले भने, ‘यसको बारेमा मलाई त्यति धेरै जानकारी छैन, जानकारी हुुने साथीहरु बैंकमा हुुनुहुन्छ, बैंकमा आएर कुरा गरौं न !
’यसकारण मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने तयारी गरेका हौँ :पन्त
एमएण्डएम रेमिटका अध्यक्ष सुमन पन्तले भने सेञ्चुरीसँगको भुक्तानीसम्बन्धी विवादलाई समाधान गर्नको लागि सेञ्चुरी कमर्सियल बैंक र सरोकारवाला अन्य निकाय तयार नभएपछि उक्त मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने तयारी गरेको बताएका छन् । ‘संसारमा जति पनि अमेरिकी डलरको कारोबार हुन्छ, त्यो कारोबार न्युयोर्क स्टेट डिपार्टमेन्ट अफ फाइनान्सियल सर्भिसेजसँग जोडिन्छ । डलर कारोबारमा संसारभर जुन–जुन संस्थाले बदमासी गर्छन्, ती संस्थाहरुलाई कारबाही गर्ने निकाय पनि त्यही हो ।
सेञ्चुरीसँगको भुक्तानी विवादमा मसरिक बैंक नेपाल च्याप्टरको पनि केही समर्थन र भूमिका देखियो । यही आधारमा पनि हामीले यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने अर्थात् न्युयोर्क स्टेट डिर्पाटमेन्टमा उजुरी दिने तयारी गरेका हौँ’, एमएण्डएम रेमिटका अध्यक्ष पन्तले भने ।
उजुरी दिनको लागि न्युयोर्कका वकिलहरुसँग पनि आफ्नो निरन्तर संवाद भएको र नेपालको वकिलहरुसँग पनि आफ्नो नियमित संवाद भइरहेको उनले बताए । ‘सेञ्चुरीसँगको मुद्दामा हामी पीडित हौँ, पैसा र पहुँचको आधारमा हामीलाई न्याय नहुने देखिएपछि बाध्य भएर उक्त प्रकरणलाई अन्तर्राष्ट्रियकरण गर्ने तयारी गरेका हौँ’, पन्तले भने ।
अध्यक्ष पन्तका अनुसार अमेरिकी डलर कारोबारमा भएको कैफियतका आधारमा यूएस स्टेट डिर्पाटमेन्टले मसरिकलाई यसअघि पनि ४० मिलियन डलर जरिवाना तिराइसकेको छ । ‘पछिल्लोपटक पाकिस्तानको हबिव बैंकलाई पनि जरिवाना तिराएको थियो’, अध्यक्ष पन्तले भने ।