लन्डन, माघ २१
केही दिनअघि मात्र युरोपेली संघबाट औपचारिक रुपमै अलग्गिएको बेलायतले युरोपेली वस्तुको पूर्ण परीक्षण गरेर मात्र आफ्नो देशमा भित्रिन दिने योजना बनाएको छ । रोयटर्सका अनुसार प्रधानमन्त्री बोरिस जोन्सनले उक्त योजना बनाएका हुन् । समाचारमा जनाइएअनुसार बेलायतले सबै वस्तुको निर्यात तथा आयात भन्सार घोषणा, सुरक्षा घोषणा, जनावरको स्वास्थ्य परीक्षण र सबै सुपरमार्केटसम्बन्धी वस्तु परीक्षणको योजना बनाइएको छ । त्यसपछि मात्रै ती वस्तु आयातनिर्यात हुन दिइनेछ । यसअघि केही वस्तुको मात्रै परीक्षणको तयारी गरिएको थियो । गत शुक्रबार मात्रै बेलायत ईयूबाट बाहिरिएको थियो ।
अबको ११ महिनामा बेलायतले क्यानडा र ईयूसँग स्वतन्त्र व्यापार सम्झौता गरिसक्नुपर्नेछ । सम्झौता नभएको अवस्थामा बेलायतले वस्तु आयातमा कडाइ गर्ने योजना बनाएको बुझिएको छ । ईयूसँग कुनै सम्झौता नभए बेलायती वस्तु ईयू सदस्यराष्ट्रमा निर्यात हुँदा अर्को वर्षदेखि करको सामना गर्नुपर्नेछ । सम्झौता नै भए पनि दुवैले एक अर्काको वस्तुको कडा परीक्षण गर्न सक्नेछन् । यसले बेलायती व्यवसायलाई असर गर्ने बताइएको छ । बेलायतले ईयूको भन्सार युनियन र बजार छाड्ने भएकाले पनि आफ्नो लागि व्यवस्था परिवर्तन गर्नैपर्ने भएको उल्लेख गरेको छ । तर बेलायतको चेम्बर्स अफ कमर्सले भने आइरहेका वस्तु निर्बाध आइरहनुपर्ने माग गरेको छ ।