काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिकोत्सवको अवसरमा प्रकाशित पाँच रुपैयाँ दरको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले टाँचा प्रदान गरेका छन् ।
चेम्बर भवनमा आयोजित उक्त कार्यक्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले चेम्वरले विगत ७० वर्षदेखि मुलुकको आर्थिक क्षेत्रमा प्रदान गरेको योगदानलाई कदर गर्दै संस्मरणात्मक हुलाक टिकट प्रकाशन गरी दिएकोमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आभार प्रकट गरेका थिए । साथै उनले चेम्बर नेपाली व्यवसायीहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी घरेलु तथा विश्वबजारमा नेपाली व्यापार क्षेत्रको दिगो विकास गर्ने कार्यमा क्रियाशील रहेको बताए ।
‘चेम्बर अभियान’लाई विस्तार गर्न र व्यावसायिक क्षेत्रको सशक्तीकरणका लागि आफूहरु प्रतिबद्ध रहेको बताउँदै उनले निजी र सरकारी क्षेत्रबीच समन्वयकारी भूमिका निर्वाहमा चेम्बरको अहम् भूमिका रहेको उल्लेख गरे । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि सचिव डा. वैकुण्ठ अर्यालले मुलुकको आर्थिक विकासको लागि नेपाल चेम्बर अफ कमर्सले निर्वाह गरेको भूमिकालाई कदर गर्दै चेम्बरको ७०औँ वार्षिक उत्सवको अवसरमा हुलाक टिकट प्रकाशन गरिएको बताए ।
हाल प्रकाशित हुलाक टिकटले चेम्बरको पहिचान सहित चेम्वर अभियानलाई विश्वव्यापी बनाउन मद्दत पुग्ने उनको भनाइ थियो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रजातन्त्र बहालीपश्चात् सात दशकअघि नै मुलुकमा सुशासनमार्फत राज्यले आर्थिक समृद्धिको लक्ष्य लिएको र सो उद्देश्य हासिल गर्न सबैको लक्ष्य समान रहेको बताए ।
सबै एकजुट भएमा आर्थिक समृद्धि हासिल गर्न धेरै समय नलाग्ने उनको भनाइ थियो । उक्त अवसरमा हुलाक सेवा विभागका महानिर्देशक इन्दु घिमिरे, चेम्बरका पूर्वअध्यक्षद्वय महेश अग्रवाल तथा सुरेन्द्रवीर मालाकारको पनि उपस्थिति थियो ।