काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले २०औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सञ्चालक समितिका अध्यक्ष राम कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले सेयरधनीलाई १९ प्रतिशत बोनस र छ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
संस्थाले आर्थिक वर्ष २०७७–०७८ मा ६८ करोड ६२ लाख ५१ हजार पाँच सय ७१ रुपैयाँँ खुद नाफा आर्जन गर्न सफल भएको छ । सभाले आव २०७७–०७८ को वासलात, नाफा–नोक्सान हिसाबलगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ ।
चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म ६१ जिल्लाका एक सय ४५ वटा शाखा तथा उपशाखा कार्यालय तथा नौवटा इलाका कार्यालयबाट दुई लाख ५४ हजार नौ सय ८७ महिला ग्राहक सदस्यहरूलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । सो अवधिमा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जा रकम १९ डढ अर्ब ४९ करोड ८७ लाख ४ हजार पुगेको छ । वित्तीय संस्थाको आन्तरिक पुँजी निर्माणमा सहयोग पुग्ने सदस्यको बचत यस अवधिसम्ममा ११ अर्व तीन करोड ६३ लाख ४५ हजार रहेको छ ।
राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाका रूपमा कारोबार गरिरहेको र वित्तीय पहुँच कम रहेका देशको सातै प्रदेशका हिमाल, पहाड र तराईका विभिन्न ग्रामीण तथा सहरी क्षेत्रमा कार्यक्षेत्र विस्तारको योजना साथ अगाडि बढेको संस्थाको अधिकृत पुँजी एक अर्ब १५ करोड रुपैयाँँ साथै जारी तथा चुक्ता पुँजी एक अर्ब १२ करोड २१ लाख ७० हजार कायम गर्ने निर्णय समेत सभाले गरेको छ ।