काठमाडौँ । कोरोना महामारीपछि नेपालमा पछिल्लो समय बेरोजगारी बढ्दो छ । बढ्दो बेरोजगारीकै कारण नेपाली युवाहरु खाडी मुलुकलगायत विभिन्न मुलक जाने क्रम समेत बढेको छ । त्यति मात्रै होइन पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाहरुको भीडकै कारण राहदानी विभागमा दैनिक हजारौँको लाइन देख्न पाइन्छ ।

राज्य सञ्चालकहरुको अस्तव्यस्त व्यवस्थापनकै कारण दैनिक हजारौँ वैदेशिक रोजगारीको नाममा ठगिनथालेका छन् । युवाहरुलाई आकर्षक प्रलोभन देखाएर भिजिट भिसामा खाडी मुलुक पु-याउने र त्यहाँ पुगेपछि रोजगारी दिनु त परको कुरा खान बस्न समेत नपाएर लाखौँ युवाहरु बिचल्ली परेका छन् ।
पछिल्लो समय दलाल तथा मानवतस्करहरुको प्रमुख गन्तव्य बनाएको मुलुक हो युनाइटेड अरब इमिरेट्स (यूएई) । दलालहरुले भिजिट भिसामा काम दिलाइदिन्छु भन्दै दुवई पु-याएका ४० हजार नेपालीमध्ये ३० हजार नेपाली बिचल्लीमा परेका छन् । यसरी हजारौँको संख्यामा नागरिक बिचल्ली बनाउँदा पनि राज्य भने मौन बसिरहेको छ ।
दुवईमा ती दलालहरुले प्रतिव्यक्ति पाँच लाख रुपैयाँसम्म असुलेर युवाहरुलाई बिचल्ली बनाएको खबर फेला परेको छ । दुबईमै रहेका ती कम्पनीहरुले नेपालबाट भिजिट भिसामा काम दिलाइदिन्छु भन्दै मानव तस्करीको धन्दा नै चलाइरहेका छन् ।दुवईमै कार्यालय रहेको त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सिजले नेपालबाट अवैध रुपमा भिजिट भिसामा सयौँ युवाहरुलाई दुवई लिएर गएको खुलेको छ । उक्त कम्पनीले आम्र्स गार्डलगायत विभिन्न काम लगाइदिन्छु भन्दै पाँच सय जना नेपालीलाई दुवई पु¥याएर अलपत्र पारेको खबर छ ।
स्रोतका अनुसार त्यस्ता नेपालीमध्ये ८० जना नेपाली सेनाबाट जागिर छोडेर दुवई पुगेका नागरिक समेत छन् । उक्त कम्पनीले सूचना निकालेर दुबईमा काम दिलाइदिन्छु भन्दै प्रचारप्रसार गरेको थियो । भ्याकेन्सी नोटिसमा आम्र्स गार्डका लागि प्रतिव्यक्ति तीन हजार अमेरिकन डलर तलब हुने आश्वासन बाँडिएको थियो । तर, सोही आश्वासनको भरोसामा नेपाली सेनाको जागिर छाडेर भिजिट भिसामा दुवई पुगेका ८० जना नेपाली सेनाकै जवान बिचल्लीमा परेपछि ठगीको रहस्य खुलेको हो ।
‘हाम्रो पासपोर्ट कब्जा गरेर राखिएको छ । भिसाको म्याद थप्न पनि पैसा लाग्ने रहेछ । भिसाको म्याद पनि सकिएको छ । तर, कम्पनीले जागिर लगाउनसकेको छैन । हामी बिचल्लीमा परेका छौँ’, दुवईस्थित ती नेपालीले भने, ‘उता जागिर छाडेर यता आइयो । यहाँ आएपछि बिचल्ली भयो । भिजिट भिसामा दलालहरुलाई तीन लाख रुपैयाँ बुझाएर यहाँ आयौँ ।’
यी हुन् मानव तस्करी गर्ने दलाल
भिजिट भिसामा नेपालीहरुलाई दुवई पु-याएर काम लगाउँछु भन्दै बिचल्ली बनाउने प्रमुख मानव तस्कर हुन् : कोमलराज उपाध्याय । उनी त्रिनेत्र कन्सल्टेन्सिज नामक कम्पनीका मालिक हुन् ।
दुवईको खालिद बिन अल वालेट रोडमा कार्यालय रहेको उक्त कम्पनीका विभिन्न दलालहरु नेपालसम्म सक्रिय रहेको पाइएको छ । उनीहरुले नै मुख्य रुपमा नेपालबाट भिजिट भिसामा नेपालीहरुलाई काम लगाइदिन्छु भन्दै मानव तस्करी गर्दै आएका छन् ।उनकै कम्पनीले भिजिट भिसामा दुवई पु-याएका नेपाली सेनाका जवानहरुको बिचल्ली भएपछि उनीहरुसँग दलाल उपाध्यायले कागज गरेका छन् । उक्त कागजातमा उनले गत नोभेम्बर २७ मा एक हप्ताभित्र काम लगाइदिने प्रतिबद्धता गरेका थिए । तर, जनवरी सुरु हुँदा समेत काम नलगाएपछि बिचल्लीमा परेका युवाहरुले आफूहरुको उद्धार गरिदिन आग्रह गरेका छन् ।
नेपालबाट भिजिट भिसामा दुवई लाने चाँजोपाँजो भने सन्तोष सुवेदी र राजन शाह ठकुरीले मिलाएका थिए । उनीहरुले नै सेनाका जवानहरुबाट तीन लाखदेखि चार लाख रुपैयाँसम्म असुली गरेका थिए ।
विमानस्थलमै सेटि·
विमानस्थलमा यस्ता मानव तस्करी रोक्नकै लागि सरकारले अध्यागमन विभाग खडा गरेको छ । तर, विभागका उच्च अधिकारीहरुकै मिलेमतोमा मानव तस्करीको डरलाग्दो रुट दुवई बनेको छ । वास्तविक रुपमा दुवई घुम्न जाने पर्यटकको हुलिया कस्तो हुन्छ भन्ने जानकारी विमानस्थलस्थित अध्यागमनका कर्मचारीलाई नहुने होइन । नेपालबाट रोजगारीकै सिलसिलामा भिजिट भिसामा दुवई जानेहरुले लगाउने कपडा र वास्तविक पर्यटन भिसामा जानेहरुले लगाउने कपडा समेत फरक हुने भए पनि विमानस्थलस्थित अध्यागमनका कर्मचारीले भिजिट भिसामै दुवई जानेका लागि रोक लगाएको छ ।
तर, रोजगारीको लागि भिजिट भिसामा जाने नेपालीहरुलाई भने खुलमखुल्ला प्रवेश गराइरहेको विमानस्थल स्रोतले आर्थिक दैनिकलाई बतायो ।‘जो वास्तविक रुपमा भिजिट भिसामा दुवई जान चाहेका छन् त्यस्ताका लागि विभिन्न उल्झन हुने गरेको छ । अध्यागमनका कर्मचारीले केही दिनअघि एउटा सहकारीको नाममा टुर प्याकेज किनेर घुम्न जान लागेकालाई फर्कायो नै । तर, जो रोजगारीको लागि भिजिट भिसाको प्रयोग गरेर गइरहेका छन्, त्यस्तालाई खुलमखुल्ला प्रवेश गराइएको छ’, विमानस्थल स्रोतले भन्यो, ‘दलालहरुले अध्यागमनका कर्मचारीलाई कमिसन बुझाएर यस्तो भइरहेको छ ।’
स्रोतका अनुसार अध्यागमन विभागका प्रमुख महानिर्देशक नारायण प्रसाद भट्टराईकै मिलेमतोमा यस्तो मानव तस्करी भइरहेको छ ।