काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनीले बीमा समितिले तोकेको दररेटभन्दा कम मूल्यमा बीमा गरेर बीमा ऐन २०४९ को उल्लंघन गरेको छ । बीमा समितिले सवारीसाधन, सम्पत्ति बीमाको लागि निश्चित दररेट तोकेको छ ।
बीमा नियमावलीअनुसार ट्यारिफ बीमा क्षेत्रतर्फ बीमा समितिले तोकेको दररेटअनुसार बीमा शुल्क लिई बीमा कम्पनीहरुले बीमा व्यवसाय गर्नुपर्दछ । तर, देशकै नम्बर एक कम्पनी भनेर दाबी गर्ने शिखर इन्स्योरेन्स कम्पनीले बीमा समितिले निर्धारण गरेको दररेटभन्दा कम मूल्यमा बीमा गरेर भटाभट प्राइस कटिङ गर्दा समेत बीमा समिति मौन रहँदै आएको छ ।
बीमा समितिभित्रै दह्रिलो प्रभाव जमाउन सफल शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डेकै निर्देशनमा प्राइस कटिङ हुने गरेको सो कम्पनी सम्बद्ध स्रोतले जनाएको छ । निर्जीवन बीमा क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका कारण शिखर इन्स्योरेन्स कम्पनीले भारी मात्रामा बीमा शुल्क छुट दिएर व्यवसाय आफ्नोमा लैजाने गरेको बीमा क्षेत्रमा चर्चा छ ।
बीमा व्यवसायमा जतिसुकै प्रतिस्पर्धा भए पनि जोखिम रक्षावरण गर्नको लागि बीमा शुल्क नलिई वा कम शुल्क लिएर बीमा गर्नै नपाउने कानुनी व्यवस्था छ । सोही कारण बीमा समितिले पटक–पटक बीमा कम्पनीहरुलाई बीमा शुल्क छुट नदिन निर्देशन दिँदै आएको छ ।
तर, बीमा समिति उच्च नेतृत्वलाई आफ्नो हातमा लिएर शिखर इन्स्योरेन्स कम्पनीले प्राइस कटिङ गरेर अन्य कम्पनीहरुलाई धुरुक्कै रुवाउन पुगेको एक बीमा कम्पनीका सीईओले गुनासो गरेका छन् । सो कम्पनीले प्रोपर्टी इन्स्योरेन्समा प्राइस कटिङ गरेर प्रतिस्पर्धी कम्पनीहरुलाई बीमा व्यवसाय गर्न निकै अप्ठ्यारो पार्ने गरेको गुनासो छ ।
कम्पनीहरुले शिखर इन्स्योरेन्स कम्पनीमा बीमा गर्दा राम्रो छुट पाउने बीमा एक बीमितिले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने, ‘हामीले जसले सस्तोमा बीमा गर्दछ, उसैकोमा गर्छौँ, शिखर इन्स्योरेन्स कम्पनीले वर्षौँदेखि छुट दिएर पोलिसी काट्दै आएको छ, कुनै क्षति भएको खण्डमा दाबी भुक्तानी दिएकै छ, पाएको छुट किन नलिने ?’
बजारमा प्रतिस्पर्धा बढेकोले बजार आफ्नो हातमा लिन सो कम्पनीले प्राइस कटिङतर्फ आकर्षित भएको हो । नेपालमा हाल २० वटा निर्जीवन बीमा कम्पनीहरुले व्यवसाय गर्दै आएका छन् । गत आर्थिक वर्षमा २० वटा निर्जीवन बीमा कम्पनीहरुले कुल ३१ अर्ब ७० करोड कुल बीमा शुल्क आम्दानी गरेका छन् ।
बीमा समितिको तथ्याङ्कअनुसार शिखर इन्स्योरेन्स कम्पनीले मात्रै गत आर्थिक वर्षमा तीन अर्ब ९७ करोड रुपैयाँ कुल बीमा शुल्क भित्र्याएको थियो । सो कम्पनीको बजार हिस्सा १२ प्रतिशतभन्दा बढी छ । तर, सो कम्पनीको मुनाफा भने गत वर्षको तुलनामा यस वर्ष घटेको छ ।
नेपाल बीमक संघको अध्यक्ष समेत रहेका शिखर इन्स्योरेन्स कम्पनीका सीईओ दीप प्रकाश पाण्डेले आफ्ना कर्मचारीहरुलाई जुनसुकै हालतमा पनि बीमा व्यवसाय कब्जा गर्न निर्देशन दिने गरेका छन् । सीईओ पाण्डेले बीमा पोलिसीमा पूरा रेट लिई भ्याटबिल समेत दिने र क्यासब्याक अफर गरेर प्राइस कटिङ गर्दै आएको आफ्नो नाम उल्लेख नगर्ने शर्तमा बारामा कार्यरत एक बीमाकर्मीले आर्थिक दैनिकलाई बताए ।
शिखर इन्स्योरेन्स कम्पनीले बीमा व्यवसाय दिने कम्पनी तथा क्लाइन्टको लेखाशाखामा काम गर्ने कर्मचारीहरुलाई कमिसन समेत दिने गरेका छन् । उनीहरुले भत्ता तथा प्रवद्र्धन खर्च भनेर भौचर उठाएर खर्च गर्ने गरेको कम्पनीसम्बद्ध स्रोतले जनाएको छ । उता, बीमा समितिले भने प्राइस कटिङ गर्ने कम्पनीलाई कडा कारबाही गर्ने जनाउँदै आएको छ । बीमा समितिका अध्यक्ष तथा नेतृत्वहरुले बीमा कम्पनीहरुले तोकिएको दररेट मात्रै बीमा गर्न पटक–पटक निर्देशन दिँदै आएका छन् ।
माथिल्लो तहमा पहुँच भएको देखाएर शिखर इन्स्योरेन्सले बीमा समितिको निर्देशन समेत उल्लंघन गर्दै प्राइस कटिङ धन्दा चलाएपछि निर्जीवन बीमा क्षेत्रका अन्य प्रतिस्पर्धी कम्पनीहरुले पटक–पटक बीमा समितिमा गुनासो गर्दा पनि बेवास्ता गरिएको गुनासो छ । बीमा समितिले गत भदौं १ गते सबै बीमा कम्पनीहरुलाई लिखित निर्देशन दिँदै प्राइस कटिङ नगर्न भने पनि शिखर इन्स्योरेन्स कम्पनीले उक्त कार्य जारी राखेको बीमा क्षेत्रमा कार्यरत कर्मचारीहरुको गुनासो छ ।
प्रतिस्पर्धी कम्पनीलाई जित्न प्राइस कटिङको सहारा लिएको शिखर इन्स्योरेन्स कम्पनीको सम्बन्धमा बीमा समितिमा गुनासो गरेपछि बीमा समितिका निर्देशक दिनेश कुमार लालले सबै बीमा कम्पनीहरुलाई लिखित निर्देशन दिएका थिए । बीमा समितिको निर्देशनपछि पनि शिखर इन्स्योरेन्स कम्पनीले प्राइस कटिङ जारी नै राखेको छ ।