काठमाडौँ । काठमाडौँ सहरमा एउटा मध्यमवर्गीय परिवारले दिनरात नभनी खटिनु पर्छ । परिवारमा एक सदस्यको कमाइले बाँकी परिवार पालिनुपर्ने हुन्छ । नेपालमा रोजगारी नपाएर मानिस विदेश लाग्छन् तर यहाँ केही गर्छु भन्नेलाई पक्कै पनि ठाउँ छ । बिहान २ बजे उठेर राममायाँ यादव कालिमाटी तरकारी बजारमा पुग्छिन् । उनले त्यहाँबाट तरकारीहरू संकलन गरेर टंकेश्वरको पुलमा ल्याएर बिक्री गर्नेगरेकी छिन् ।
यादवले तरकारी बेचेर दैनिक पाँच सयदेखि एक हजार दुई सय रूपैयाँसम्म आम्दानी गर्नेगरेको सुनाइन् । उनको परिवारमा दुई छोरी, एक छोरा, श्रीमान् र उनीसहित पाँच जना छन् । यादवको जन्मथलो इन्डिया भए पनि कर्मथलो भने नेपाल रहेको छ । उनले पुलमा तरकारी बेचेर नै आफ्ना छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाएकी छन् ।
‘काम सानो ठूलो हुदैँन, सानो–ठूलो हुन्छ त केवल हाम्रो सोच’ भन्ने मान्यताका साथ यादवले १२ वर्षअगाडि व्यापार गर्न थालेकी हुन् । कोरोना महामारीका बेला अधिकांश नेपालीले आफ्नो जागीर गुमाए । स्कुलमा पिउनको काम गर्ने सिता घर्तीमगरले पनि कोरोनामा कारण आफ्नो जागीर गुमाइन् । काम नभएपछि पैसाको अभावले उनले ठेलामा तरकारी बेच्ने काम सुरु गरिन् । उनी अहिले बिहान र बेलुका नै तरकारी बेच्ने गरेकी छिन् ।
तरकारी बेचेर नै राम्रो आम्दानी भइरहेको उनले सुनाइन् । सुरुका केही दिनहरूमा गाह्रो भए पनि बिस्तारै उनले हिम्मत गरेर काम गर्न थालेको बताइन् । अहिले उनी दैनिक सात सयदेखि दुई हजार रूपैयाँसम्म कमाउने गर्छिन् । उनी हाल दिउँसो स्कुलमा समेत काम गर्दै आइरहेकी छिन् ।
‘नेपाली समाजमा कामका लागि एकदमै भेदभाव हुनेगरेको छ’, उनी भन्छिन्, ‘युवापुस्ता देशमा रोजगारी छैन भन्दै विदेशी भूमिमा आफ्नो पसिना बगाउन जान्छन् । विदेशमा भाँडा माझ्ने काममा गर्व गर्ने नेपाली आफ्नो देशमा काम गर्दा सरम मान्छन् ।’ मिहिनेत गर्नसके नेपालमा नै बसेर राम्रो कमाइ गर्न सकिने उनले बताइन् ।