मस्को । चिनियाँ दूरसञ्चार कम्पनी हुवावेको वार्षिक आम्दानी ह्वात्तै घटेको छ । अमेरिकी प्रतिबन्ध खेपिरहेको कम्पनीको आम्दानी २९ प्रतिशतले घटेको एएफपीले जनाएको छ ।
हुवावे अमेरिका–चीन व्यापारयुद्धको बीचमा परेको थियो । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कम्पनपीले साइबर सुरक्षा र राष्ट्रिय सुरक्षामा जोखिम पार्ने भन्दै हुवावेलाई प्रतिबन्ध लगाएका थिए । कम्पनीको आम्दानी उक्त दरले घटेर छ खर्ब ३४ अर्ब चिनियाँ युआन अर्थात् ९९ अर्ब ५० करोड अमेरिकी डलर पुगेको हो । हुवावेले गत शुक्रबार पछिल्लो तथ्यांक सार्वजनिक गरेको हो ।
हुवावे सार्वजनिक सूचीकृत नभएको कम्पनी हो । यसले आफ्नो वित्तीय विशेष कुराहरु उपलब्ध गराउँदैन । सन् २०२२ मा पनि कम्पनीले धेरै चुनौतीको सामना गर्नुपर्ने हुनसक्ने कम्पनीले जनाएको छ । अमेरिकाले मुख्य पार्टपुर्जा अमेरिकी कम्पनीबाट लिन नसक्ने गरी प्रतिबन्धित गर्दा त्यसको मार हुवावेले खेपिरहेको छ ।
यसबाहेक कम्पनीले गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग समेत गर्न पाएको छैन । यही महिना कम्पनीले नयाँ भाँच्न मिल्ने स्मार्टफोन ल्याएको थियो । कम्पनीका अनुसार २२ करोड हुवावे डिभाइसहरु हार्मोनीओएस सिस्टममा चलिरहेका छन् ।