काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले राजस्व संकलनमा देखाएजस्तै तदारुकता पुँजीगत खर्च गर्नमा भने देखाउन नसकेको आरोप लगाएका छन् ।
तरलताको समस्या पेचिलो बन्दै गएको अहिलेको समयमा सरकारको पुँजीगत खर्च मात्र बढ्न सके पनि त्यसले केही सहयोग गर्ने उनको भनाइ छ । कोभिडले थलिएको अर्थतन्त्रले केही गति लिन खोजेको बेला तरलताको अभावले झन् समस्या उत्पन्न भएको उनले बताए ।
निजी क्षेत्रलाई पनि व्यापारमुखी मात्र भएको, उत्पादनमुुखी क्षेत्रमा लाग्न नसकेको भन्ने आरोप लाग्ने गरेको भन्दै उनले यो केही हदसम्म सत्य भए पनि निजी क्षेत्र उपयुक्त वातावरण पाएमा उत्पादनमुुखी क्षेत्रमा केन्द्रित हुन तयार रहेको उल्लेख गरे ।
भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा महासंघले आइतबार राखेको स्वागत एवं बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले आर्थिक गतिविधि बढ्न लागेको, आन्तरिक पर्यटन विस्तारै अगाडि बढ्ने तर्खरमा रहेको बेला पुनः कोभिडको अर्को भेरियन्टले विश्वलाई नै तर्साएको बताए ।
यतिबेला अन्तर्राष्ट्रिय उडानहरू बन्द भएको, देशहरू पुनः लकडाउनतर्फ गइरहेको र त्यसको प्रभाव नेपालमा पनि पर्ने चिन्ता सर्वत्र रहेको उल्लेख गरे । अर्थतन्त्र र रोजगारीमा ठूलो योगदान रहेको पर्यटन क्षेत्र ओमिक्रोनको त्रासले सेटब्याक हुने खतरामा रहेको उनको भनाइ थियो ।
अर्थतन्त्रको विस्तार, रोजगारी सिर्जना, निर्यात अभिवृद्धि गर्ने लक्ष्यका साथ महासंघले ल्याएको भिजन पेपर नेट २०३० को सफल कार्यान्वयनमा महासंघको सिंगो सञ्जालको कार्यगत एकता, सहकार्य, ओनरसिप आवश्यक रहेको पनि उनले बताए ।
साथै उनले भक्तपुरको प्रमुख सामथ्र्य भनेको पर्यटन, हस्तकला, कला संस्कृति नै रहेकाले यी क्षेत्रको विकासमा संघले नवीनतम सोचका साथ काम गर्नुपर्ने बताए । महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन काम गरेर देखाउन जरुरी रहेको बताए ।
सानो ठाउँमा पनि ठूलो काम गर्न सकिने उदाहरण दिँदै उनले लगभग भक्तपुर जत्रै माल्टा भन्ने देशले प्रतिवर्ष २२ लाख पर्यटक भित्र्याउने गरेको उल्लेख गरे । भक्तपुरसँग पनि त्यो सम्भावना प्रबल रहेकाले यसमा केन्द्रित हुन उनले सुुझाव दिए । साथै उनले स्थानीय निकायबाट अव्यावहारिक रूपमा उठाइएका करका सम्बन्धमा महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकेको पनि स्पष्ट पारे ।
उद्योग व्यवसाय विकासका लागि अवरोध बनेका ऐन कानुनको संशोधन, पुनर्लेखनका लागि महासंघले सरकारसँग निरन्तर लबिङ गरिरहेको उनको भनाइ थियो । महासंघका उपाध्यक्ष रामचन्द्र संघाईले भक्तपुर कला, संस्कृति, मौलिकतामा सम्पन्न रहेकाले अहिलेको युवा टिमले त्यसैको आधारमा काम गर्नुपर्ने सुुझाव दिए । उनले विगतमा भक्तपुर ताजा तरकारीका लागि निकै प्रसिद्ध रहेको पनि चर्चा गरे ।
कार्यक्रममा संघका अध्यक्ष शिव प्रसाद मानन्धरले पर्यटन विकासमा आफूहरू विशेष रूपमा केन्द्रित हुने बताए । साथै उनले स्थानीय निकायले जथाभावी उठाएका करहरू रोकिनुुपर्ने र चेम्बर कानुन ल्याउनुपर्नेमा जोड दिए ।