काठमाडौं, माघ २२
संघीय संसद्मा समाजवादी पार्टी नेपालका प्रमुख सचेतकले दुई जना चालकको तलब आफैँले बुझेर खर्च गरी आफ्नो गाडी चलाउन अवैध चालक राखेको खुलासा भएको छ । समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले आफूमाथि सुरक्षा चुनौती छ भनेर गृह मन्त्रालयमार्फत नेपाल प्रहरीबाट निजी सुरक्षा अधिकारी (पीएसओ) लिए पनि उनलाई गार्डको सट्टा गाडी चलाउने काममा लगाएका छन् ।
संघीय संसद् सचिवालयले दिएको बा.२झ १६९२ नम्बरको गाडी दुर्घटना भएपछि प्रमुख सचेतक अरगरियाको गाडी चालक नेपाल प्रहरीका हवल्दार रहेको खुलेको हो । गाडी दुर्घटना भएपछि अरगरियाले संसद् सचिवालयका महासचिवमार्फत अर्को गाडी व्यवस्था गर्न दबाब दिएका थिए । गाडी व्यवस्था गर्ने संसद्को शाखाले स्कोर्पियो गाडी उपलब्ध गराएको थियो ।
उक्त स्कोर्पियो गाडी राम्रो छैन भनेर चालकले फर्काउन भनेपछि प्रमुख सचेतक अरगरियाले अर्को गाडी व्यवस्था गर्न संसद् सचिवालयमा भनेका थिए । राम्रो कन्डिसनको गाडी किन हुँदैन भनेर फिर्ता गर्न लागे भनेर संसद् सचिवालयका कर्मचारीले खोजबिन गर्दा नेपाल प्रहरीको तर्फबाट सुरक्षा गार्डका रुपमा आएका हवल्दारले साना कार मात्र चलाउन सक्ने र जीप चलाउन नजानेको कारण गाडी स्टार्ट गरेर चलाउन खोज्नासाथ स्टार्ट बन्द हुने गरेको रहेछ ।
उक्त गाडी केही दिनअगाडि मात्र राष्ट्रियसभाका एक पदाधिकारीलाई पनि उपलब्ध गराइएको थियो । ती पदाधिकारीका चालकले राम्रोसँग चलाएर कुनै समस्या छैन भनेर बुझाएको गाडी अरगरियाको चालकले कन्डिसन ठीक छैन भनेर फिर्ता गरेपछि चालकको योग्यतामाथि संसद् सचिवालयका कर्मचारीले आशंका गरेका थिए ।
चालकले चलाउन नजानेको कारण गाडीको स्टार्ट बन्द भएपछि सचिवालयका कर्मचारीहरुले प्रमुख सचेतक अरगरियाको वास्तविक चालकको सोमबार दिउँसोदेखि नै खोजी गरेका थिए । स्कोर्पियो गाडी फिर्ता गरेपछि संसद् सचिवालयले अरगरियालाई सोमबार घर जानका लागि गाडी व्यवस्था गर्न सकेन ।
मंगलबार गाडी बनाउने ग्यारेजमा पुग्दा पनि संसद्का कर्मचारीले प्रमुख सचेतक अरगरियाको गाडीको वास्तविक चालक फेला पारेनन् । पीएसओ नै गाडी बनाउन पुगेका थिए । उनलाई सचिवालयका कर्मचारीले सोधखोज गर्दा अरु चालक नभएको र आफू नै चालक भएको बताएका थिए । सचिवालयका कर्मचारीले तिमीले गार्डको काम गर्ने कि गाडी चलाउने ? यो कुरा गृह मन्त्रालय हुँदै प्रहरीमा गयो भने के हुन्छ भनेर सोध्दा उनले ठूलाले लगाएपछि आफूले चालकको काम गरेको तर यो काम अवैध हो भन्ने आफूलाई थाहा नभएको बताएका थिए । स्रोतका अनुसार संसद्का कर्मचारीले उनलाई केही हजार रुपैयाँ पाउँदैमा आफ्नो जिम्मेवारीभन्दा बाहिरका काम गर्दा समस्या हुनेतर्फ सचेत गराएर फर्किएका थिए ।
केही नेताहरुले व्यक्तिगत सम्बन्ध र पहुँचको आधारमा सुरक्षा निकायबाट चालक नै भनेर ल्याएर प्रयोग गरे पनि बडीगार्डको रुपमा ल्याएर चालक बनाउने काम भने प्रमुख सचेतक अरगरियाले गरेका हुन् । उक्त गाडी कहाँ लगेर ठोक्काएको भन्नेबारे प्रमुख सचेतक अरगरिया र चालक प्रहरी हवल्दार दुवैले संसद् सचिवालयमा सही कुरा बताएका छैनन् ।
अरगरिया तत्कालीन संघीय समाजवादी फोरम नेपालको तर्फबाट धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । अरगरिया कानुनतः पीएसओ पाउने तहमा छैनन् । तर, उनले आफूमाथि सुरक्षा चुनौती छ भनेर पीएसओ लिएका हुन् । सांसदहरुले सुरक्षाको लागि माग गर्नासाथ गृहले सजिलै गार्ड उपलब्ध गराउने गरेको छ । अरगरियाले पनि त्यसैगरी गार्ड पाएका हुन् ।
संघीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ अनुसार दलका प्रमुख सचेतकले प्रथम स्तरका दुई जना सवारी चालक पाउँछन् । त्यसको रकम सरकारले सिधै सम्बन्धित प्रमुख सचेतकको खातामा पठाइदिने गरेको छ । त्यस्ता चालकलाई प्रतिचालक २२ हजार दश रुपैयाँ तलबको व्यवस्था छ । त्यस्तै प्रतिमहिना सवारीसाधनका लागि इन्धन एक सय ५० लिटर र मोबिलको प्रत्येक तीन/तीन महिनामा पाँच लिटरका दरले पाउनेछन् । इन्धन र मोबिलको पैसा सरकारले नगद नै उपलब्ध गराउने गरेको छ । सांसदले प्रतिमहिना पारिश्रमिक ५५ हजार दुई सय ३० रुपैयाँ पाउने गरे पनि दलको प्रमुख सचेतकले ५७ हजार सात सय ८० रुपैयाँ पाउने कानुनी व्यवस्था छ ।