हङकङ । संकटग्रस्त चिनियाँ घरजग्गा कारोबारी कम्पनी एभरग्रान्डेले हङकङमा सेयर बिक्री निलम्बन गरेको छ । लगानीकर्ताहरु यसको पुनर्संरचनाको पर्खाइमा रहिरहेका बेला कम्पनीले सेयर बिक्री निलम्बन गरेको बीबीसीले उल्लेख गरेको छ ।
कारोबार रोक्नुपर्नाको कारण भने हङकङ स्टक एक्सचेन्जलाई नखुलाइएको बताइएको छ । एभरग्रान्डेको ऋण नै तीन खर्ब अमेरिकी डलर छ भने कम्पनीले आफ्ना भौतिक सम्पत्ति र सेयर बेचेर आपूर्तिकर्ता र कर्जादातालाई ब्याज तिरिरहेको छ ।
गत हप्ता कम्पनीले लगानीकर्तालाई पैसा दिन आफ्नो धन व्यवस्थापन उत्पादनको योजना ल्याएको थियो । शुक्रबार कम्पनीले प्रत्येक लगानीकर्तालाई यी उत्पादनबाट हरेक महिना एक हजार दुई सय ५७ अमेरिकी डलर पाउने बताएको थियो । यसअनुसार सावाँँ भुक्तानी तीन महिनाका लागि गरिने बतायो । तर उसले त्यो लगानी कहिले परिपक्व हुने बताएको थिएन ।
कम्पनीले यसअघि जब उत्पादन परिपक्व हुन्छ पैसाको परिमाण उल्लेख नगरी महिना सकिनुअघि लगानीको १० प्रतिशत भुक्तानी गर्ने सहमति गरेको थियो ।
वेल्थ युनिटको वेबसाइटमा जारी वक्तव्यमा कम्पनीले उक्त अवस्था पनि उपयुक्त नभएकाले कम्पनीले अब सक्रिय भएर रकम उठाउने र मार्चको अन्त्यतिर पुनर्भुक्तानीबारे बताउने बतायो ।
उक्त घोषणाले पनि कम्पनीसँग पैसा नभएको अवस्थालाई दर्शाएको थियो । गत हप्ता एभरग्रान्डेले आफ्नो अफशोर बन्डहरुको केही ब्याज भुक्तानी गर्न सकेन ।
त्यही हप्ता स्थानीय मिडियाले सिटी गभर्नमेन्टले चीनको हैनानमा अवैधानिक रुपले बनाइएका ३९ आवासगृह १० दिनभित्र भत्काउन डिसेम्बर ३० मा आदेश दिएको समाचार प्रकाशित गरेका थिए ।
यसबारे एभरग्रान्डेले केही बताएको छैन । रेटिङ एजेन्सीहरुले गत महिना समयमै भुक्तानी गर्न नसक्दा कम्पनीको १९ अर्ब अन्तर्राष्ट्रिय ऋणपत्रमा फसेको बताएका थिए ।
अक्टोबरको सुरुतिर पनि कम्पनीले सेयर कारोबार निलम्बन गरेको थियो । कम्पनीको ठूलो कारोबार हुनलागेको भन्दै सेयर किनबेच रोकिएको थियो । केही समाचारहरुका अनुसार त्यतिबेला हप्सन डेभलपमेन्टले कम्पनीको प्रोपर्टी सर्भिस युनिटमा ५१ प्रतिशत सेयर किन्न लागेको बताइएको थियो ।
यद्यपि त्यही महिनापछि एभरग्रान्डेले सहमति हुन नसकेपछि २.६ अर्ब डलरको उक्त सम्झौता तुहिएको बताएको थियो । लगानीकर्ताहरुले भविष्यको चिन्ता गरेपछि गत वर्ष एभरग्रान्डेको सेयर ९० प्रतिशतभन्दा धेरैले गिरावट आएको थियो ।