न्युयोर्क । संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को संक्रमण बढ्दै गएपछि स्थानीय समयानुसार आइतबार बिहानसम्म करिब २ हजार उडानहरू रद्द गरिएका छन् ।
सोमबार बिहान ८ः३० बजेसम्म अमेरिकाभित्र वा बाहिर जम्मा एक हजार नौ सय ५६ उडानहरू रद्द गरिएको सञ्चारमाध्यमहरुले बताएका छन् । जबकि अमेरिकाभित्र र बाहिर अन्य आठ सय ७० उडानहरू ढिलाइ भएको फ्लाइटअवेयरलाई उद्धृत गर्दै द हिलले जानकारी दिएको छ ।
द हिलका अनुसार, साउथवेस्टले आज दुई सय ६४ उडान, जेटब्लुले एक सय ६९ उडान र डेल्टाले एक सय ६१ उडान रद्द गरेको जनाएको छ । अमेरिकन एयरलाइन्सले सोमबार एक सय ३६ उडान र युनाइटेडले ९४ उडान रद्द गरेको मिडिया आउटलेटले जनाएको छ ।
आइतबार र क्रिसमसको पूर्वसन्ध्या लगायत विगत १० दिनहरूमा, एयरलाइन्सहरुले अमेरिकामा १४ हजारभन्दा बढी उडानहरू रद्द गरेका छन् फ्लाइटअवेयर तथ्यांकले जानकारी दिएको छ ।