नयाँ दिल्ली । भारत बायोटेकले सोमबार अफगानिस्तानलाई कोभिड–१९ खोप कोभ्याक्सिनको पाँच लाख डोज प्रदान गरेको छ ।
ट्विटरमा भारत बायोटेकले ‘आज भारतले अफगानिस्तानलाई कोभिड भ्याक्सिनको पाँच लाख डोजसहितको मानवीय सहायताको अर्को शृंखला प्रदान गरेको’ उल्लेख गरेको छ । त्यो इन्दिरा गान्धी अस्पताल, काबुललाई हस्तान्तरण गरिएको जनाइएको छ । आगामी सातामा थप ५ लाख डोजको अर्को ब्याच आपूर्ति गरिने पनि जानकारी दिइएको छ ।
कोभ्याक्सिनको पाँच लाख डोज रहेको मानवीय सहायताको अन्तिम ब्याच जनवरी १ मा अफगानिस्तानलाई आपूर्ति गरिएको थियो । भारतले अफगान जनतालाई खाद्यान्न, कोभिड–१९ खोपको १० लाख डोज र जीवन बचाउने आवश्यक औषधिहरू समावेश गरी मानवीय सहायता उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएको छ ।
गत महिनाको सुरुमा भारतले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) मार्फत अफगानिस्तानलाई १.६ टन चिकित्सा सहायता पु-याएको थियो । तालिबानले अगस्ट १५ मा काबुललाई आफ्नो नियन्त्रणमा लिएको थियो र यसपछि देश गहिरो आर्थिक, मानवीय र सुरक्षा संकटमा परेको छ ।
वैदेशिक सहायताको निलम्बन, अफगान सरकारको सम्पत्ति रोक्का गर्ने र तालिबानमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्ध आदिको कारणले उच्च गरिबीबाट पीडित हाल आर्थिक संकटमा फसेको छ ।