काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेड आइतबारदेखि आफ्नो स्थापनाको १६औँ वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ४९ कर्मचारीहरूलाई सम्मान गरेको छ ।

काठमाडौँको एभेष्ट होटेलमा आइतबार आयोजित विशेष कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई १५ वर्षे कोशेढुंगा पार गरेकोमा सम्मान गरेका छन् । यसका साथै अध्यक्ष ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत कर्मचारीहरूलाई सम्मान गरेका छन् ।
बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमई बैंकले ‘उत्कृष्ट बैंकिङ सबैका लागि’ भन्ने नाराका साथ आफ्नो स्थापनाको १५ वर्षमा १८ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर तथा एक्विजिसनमार्फत आफूलाई अधिकांश वित्तीय सूचकहरूमा अब्बल बनाउन सफल रहेको बताएका छन् ।
प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य बैंकले आफ्नो सेवालाई ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समय सापेक्ष सेवा दिनेगरी आफ्नो लक्ष्य निर्धारण गरेर बैंक अगाडि बढेको बताए ।
हाल बैंकको ३३ अर्ब ७५ करोड रुपैयाँ सेयरधनी कोष, दुई खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप संकलन र दुई खर्ब ६९ अर्ब रुपैयाँ कर्जा लगानी रहेको छ । त्यस्तै, बैंकले ७६ जिल्लामा रहेका आफ्ना दुई सय ८७ शाखा, दुई सय ६३ शाखारहित बैंकिङ सेवा, दुुई सय ५२ एटीएम, ४८ एक्स्टेन्सन काउन्टर र तीनवटा वैदेशिक सम्पर्क कार्यालयमार्फत उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
बैंकमा तीन हजार दुई सयभन्दा बढी कर्मचारी तथा २७ लाखभन्दा बढी ग्राहकहरू रहेका छन् । बैंकले आफ्नो स्थापनाको १५औँ वर्षको अवसरमा मुलुकका सातवटै प्रदेशमा सप्ताहव्यापीरूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ ।
यस क्रममा बैंकले निःशुल्क स्वास्थ्य शिविरहरू, रक्तदान कार्यक्रम, छात्रवृत्ति वितरण तथा बैंकको अन्तर विभागीय खेलकुद प्रतियोगिताको आयोजना गरेको थियो । ग्लोबल बैंक २०६३ साल पुस १८ गते क्षेत्रीयस्तरको वाणिज्य बैंकको रूपमा स्थापना भएको थियो ।